नेपाल टि२० लिग : विराटनगरको पहिलो जित, पोखराको हार शृंखला कायमै

हिमाल प्रेस १३ पुष २०७९ १९:५९ | Wednesday, December 28, 2022
नेपाल टि२० लिग : विराटनगरको पहिलो जित, पोखराको हार शृंखला कायमै

काठमाडौँ- नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सले पहिलो जित दर्ता गर्दा पोखरा एभेन्जर्सले हारको सिलसिलालाई जारी राखेको छ। बुधबारको दोस्रो खेलमा पोखरालाई ६ विकेटले हराउँदै विराटनगरले लिगमा पहिलो पटक दुई अंक जम्मा गरेको हो। यसअघिका दुवै खेलमा विराटनगर हारेको थियो।

उता पोखराले भने लगातार चौथो खेलमा पराजय भोगेको हो। लिगमा अंकको खाता नखोल्ने एक मात्र टिम बनेको पोखरा अंक तालिकाको पुछारमा छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले १९ ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो। पोखराले दिएको मध्यम लक्ष्य विराटनगरले १७.५ ओभरमा १४० रन बनायो।

विराटनगरलाई जिताउन पाकिस्तानी अलराउन्डर हुसेन तलाटले अर्धशतक प्रहार गरे। ३० बल सामना गरेका उनले चार चौका र एक छक्कासहित कुल ५० रन जोडे। यसअघिका खेलमा २८ र ३९ रन बनाएका तलाटका लागि लिगमा यो पहिलो अर्धशतक हो।

त्यसअघि विराटनगरका ओपनरद्वय आन्द्रे म्याककर्थी र अर्जुन साउले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। अघिल्ला दुई खेलमा मध्यक्रममा ब्याटिङ गरेका म्याककर्थीले यसपल्ट ओपनिङ गर्दै २१ रन जोडे। अर्का ओपनर अर्जुनले २२ बल सामना गरेर २५ रन बनाए। त्यसैगरी पृथु बास्कोटाले १५ र विवेक यादवले १४ रन बनाउँदा रोहित पौडेल पाँच रनमा सीमित भए।

पराजित टिम पोखराले फेरि एकपटक औसत ब्याटिङ ग¥यो। ३७ रन बनाएका कुशल मल्ल पोखराका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने। सिद्धान्त लोहनीले २६ रन, कप्तान उपुल थरंगाले १९, सुमित महर्जनले १२ र आरिफ शेखले १० रन जोडे।

पोखरालाई मध्यम योगफलमा समेट्न विराटनगरका राज नन्नान्ले आठ रन खर्चिएर दुई विकेट लिए। हुसेत तलाटले पनि दुई विकेट नै हात पार्दा नन्दन यादव, आन्द्रे म्याककर्थी र शहबाब आलमको नाममा एक–एक विकेट रह्यो।

प्रकाशित: १३ पुष २०७९ १९:५९ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast