 
                             
                                            लुम्बिनी- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४ र १५ गते प्रथम ज्ञान उत्सव हुने भएको छ।
तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै तिलोत्तमा नगरपालिकामा प्रथम दलित ज्ञान उत्सव हुन लागेको जानकारी गराउन पाउँदा गौरवान्तित भएको बताएका छन्।
दलित तथा सीमान्तकृत समुदायका विभिन्न सामाजिक आन्दोलनहरुको उर्वर भूमिको रुपमा मात्र नभएर विश्वलाई समानता र करुणाको ज्ञान दिने गौतम बुद्धको जन्मभूमिमा उत्सव आयोजना हुनु आफैमा सामाजिक न्यायका लागि नयाँ अध्यायको सुरुआत भएको नगरप्रमुख खाँणले बताए।
नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्वपूर्ण योगदान रहेको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उत्सवले गुमेको दलित समुदायको आत्मसम्मान र स्वाभिमान जगाउन महत्वपूर्ण योगदान दिने नगरप्रमुख खाँणको विश्वास छ।
तिव्र विकास हुँदै गरेको तिलोत्तमा नगरले सामाजिक न्यायको क्षेत्रमा पनि काम गर्दै आइरहेको अवस्थामा दलित ज्ञान उत्सवले नयाँ इट्टा थप्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए। उनले यो उत्सवमा सहभागिता हुनका लागि समेत आग्रह गरे।
तीन दिनसम्म चल्ने यो दलित ज्ञान उत्सवमा १४ भन्दा बढी सेसन तथा सांगीतिक प्रस्तुतिहरु हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले जानकारी दिए। ज्ञान उत्सवको मुख्य विषयमा दलित समुदायका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक लगायतका विविध विषयमा विमर्श हुने उनले बताए।
बुटवलस्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ०९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ। उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि हामी सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरुको उपस्थिति रहनेछ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 