वरिष्ठ गायक आचार्यप्रति श्रद्धाञ्जली [तस्बिरहरू]

दिपेश श्रेष्ठ १५ फागुन २०८० १२:०३ | Tuesday, February 27, 2024
वरिष्ठ गायक आचार्यप्रति श्रद्धाञ्जली [तस्बिरहरू]

काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि गीतकार, गायक, संगीतकार, कलाकार, राजनीतिक दलका नेता नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेका छन्।

भजनशिरोमणिको उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। श्रद्धाञ्जली दिनका लागि कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, संगीतकारहरू, गायकगायिका, अभिनेता, शुभेच्छुकलगायत ठूलो संख्यामा शुभेच्छुकहरू नक्सालमा भेला भएका छन्।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन्।

१९९९ साल असोज १६ गते धनकुटामा बलभद्र आचार्य र रेणु आचार्यका पुत्रका रूपमा जन्मिएका भक्तराज स्वरसम्राट् नारायणगोपालका समकालीन हुन। २०३० सालमा रेडियो नेपालको गीत प्रतियोगितामा प्रथम भई स्वर्णपदक जितेका थिए। त्यसपछि सांगीतिक यात्रा अघि बढाएका उनले केही वर्ष रेडियो नेपालमा जागिर खाएका थिए।

उनीमाथि २०४६ साल मंसिर १९ गते राजधानीको बौद्धमा आक्रमण भएको थियो। आक्रमणमा उनको टाउकामा गम्भीर चोट लागेको थियो। २०५० सालमा क्यान्सरका कारण जिब्रो काटिएपछि उनको सांगीतिक यात्रा टुंगिएको थियो।

आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि सांगीतिक क्षेत्रमै क्रियाशील छन्।

प्रकाशित: १५ फागुन २०८० १२:०३ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast