प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- भरतपुर महानगरपालिका-१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।
महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ। मेडिकल कलेज सोही वडामा पर्छ।
वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यस्तै वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन्। छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ। रासस
प्रकाशित: १२ फागुन २०८० ८:५८ | Saturday, February 24, 2024
प्रतिक्रिया




