नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको विजय यात्रा जारी

हिमाल प्रेस १२ पुष २०७९ १३:०५ | Tuesday, December 27, 2022
नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको विजय यात्रा जारी

काठमाडौँ- शाड्ले भान शालविकको मजबुत अलराउन्ड प्रदर्शनको सहयोगमा लुुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार पोखरा एभेन्जर्समाथि लुम्बिनीलाई तीन विकेटको जित दिलाउन शालविकले ११ बलमा ३१ रन बनाए भने तीन विकेट हात पारे।

जितपछि लुम्बिनी ६ अंकसहित शीर्षस्थानमा छ। लुम्बिनीले गएका दुई खेलमा विराटनगर सुपर किंग्स र फारवेस्ट युनाइटेलाई पराजित गरेको थियो। उता पोखराका लागि भने यो लगातार तेस्रो हार हो। पोखराले यसअघि जनकपुर रोयल्स र काठमाडौँ नाइट्ससँग पराजय व्यहोरेको थियो।

पोखराले दिएको १३४ रनको लक्ष्य सात विकेटको क्षतिमा पूरा गरेको लुम्बिनीका लागि शालविकबाहेक कुशल भुर्तेलको ब्याटिङ महत्त्वपूर्ण साबित भयो। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले २८ बल सामना गर्दा ३९ रन जोडे। त्यसमा चार चौका र दुई छक्का सम्मिलित थिए।

लुम्बिनीका लागि भारतीय ओपिनङ ब्याट्सम्यान उन्मुक्त चन्दले २२ रनको योगदान गरे। भारतलाई यही वर्ष अन्डर १९ विश्वकप जिताएका उन्मुक्तले जारी नेपाल टि२० लिगमा भने दोहोरो अंकको स्कोर गर्न सकेका थिएनन्। उनले पछिल्ला दुई खेलमा दुई–दुई रन मात्र बनाउन सकेका थिए। यसैगरी अनिल साहले १९ र गुल्शन झाले १० रनको योगदान गरे।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३३ रनको योगफल तयार पारेको थियो। कुशल मल्लले ६१ र उपुल थरंगाले ४२ रन बनाउँदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

ओपनरद्धय आमिर हम्जा र आशिफ शेख क्रमशः चार र ६ रनमा आउट हुँदा आभिमन्यु मिथुन, सिद्धान्त लोहनी र प्रतिस जीसी शून्यमा सीमित भए। त्यसैगरी कप्तान शरद भेस्वाकरले पाँच रन र आरिफ शेखले दुई रन मात्र बनाए।

पोखरालाई मध्यम स्कोरमा समेट्न दक्षिण अफ्रिकाका शाड्ले भान शालविकले चार आभेरमा २७ तीन खर्चिएर तीन विकेट लिए। त्यसैगरी किशोर महतो र गुल्शन झाले दुई–दुई विकेट लिँदा सागर ढकाल तथा हरहित सिंहको नाममा एक–एक विकेट रह्यो।

प्रकाशित: १२ पुष २०७९ १३:०५ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast