बढ्दो चिसोमा किसानलाई कामकै चटारो

हिमाल प्रेस १२ पुष २०७९ १२:१७
4
SHARES
बढ्दो चिसोमा किसानलाई कामकै चटारो

महोत्तरी- मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ। चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ। यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पुर्‍याउनु पर्ने र उखुक्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ।

अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो। समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता छ। यहाँका किसानहरू मध्य पुसको थरथरी कमाउने चिसोबीच आराम गर्न पाएका छैनन्।

‘खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ,’ भंगाहा–४ रामनगरका किसान अरुण गिरीले, ‘गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म फूल फक्रेर कक्रक्क पर्छ, तर चिसोले अलिक गाह्रो बनाएको छ।’ उनी यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्र्याक्टरमा लोड गर्ने काममा पनि व्यस्त छन्।

खेतीपातीका यी कामसँगै अहिले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ। तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन्।

त्यसैगरी तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन्। पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ ९लड्डु० बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सक्खर पकाउन थालेका छन्। आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन्। मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ।

‘पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, अहिले सख्खरका लागि उखु पेल्ने, मुरी/चिउराका लागि धान उसिन्ने र तिल झाँट्ने र बजार लाने काम छन्, लगत्तै अब १० दिनपछि अलुवा (सखरखण्ड, सुठुनी), पिँडालु र तरुल खन्ने काम सुरु हुन्छ,’ रामनगर बस्तीकै ४५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, ‘अहिले बजार पुर्‍याउन नसकिएको तिलको भाउ सङ्क्रान्तिपछि घट्छ।’

मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने स्थापित परम्पराले माघे सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन्। मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पुर्‍याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ। कन्दमूल खन्ने र बजार पुर्‍याउने काम भने पुस चौथो साता लागेपछि थालिने दनुवारले बताए। पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई ९लड्डु० खाने/ख्वाइने चलन छ।

त्यसैगरी गोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुले राम्रो भाउ पाउँछन्। पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्‍याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले फुर्सद पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवानको भनाइ छ।

पर्वकै तुक पारेर उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लीन देखिएका छन्। ‘अहिले जाँगर नचलाए आम्दानी हुँदैन,’ मिठ्ठा बनाउन ठूलो चुलोमा खुदो उमाल्न व्यस्त बर्दिबास–६ प्रेमनगरका किसान रामकृपाल महतोले भने, ‘उखुबाट हुने आम्दानीले वर्षभरिलाई पुग्ने अन्न जोहो गर्नुपर्छ।’

मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोलेर मनाउने गर्छन्। यहाँका थारू समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ। थारू समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा यसको जोहो गर्न केही पहिलेदेखि नै थारूहरुको व्यस्तता बढ्ने गरेको छ।

तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ। विवाह भएका छोरी/चेली (फुपू, दिदीबहिनी र छोरीभतिजी) मित/मितिनी र नजिकी इष्टमित्रकहाँ पर्वविशेषका परिकार पुर्‍याइने परम्परा छ।

प्रकाशित: १२ पुष २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast