ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा उद्घाटन समारोहमा सहभागी। तस्बिर : हिमाल प्रेस
ललितपुर- नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरुङले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताएका छन्।
ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्ने बताएका हुन्।
‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उनले भने। साथै गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने पनि बताए। पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनले बताए। ‘मुसाले एकैपटक धेरै बच्चा जन्माउँछ तर हात्तीले एउटा मात्रै जन्माउँछ हात्ती नै शक्तिशाली हुन्छ,’ उनले भने।
उनले कांग्रेसको समाजवादले झुपडी र महलमा बस्नेलाई जोड्नुपर्ने बताए। गुरुङले बैठकमा पेस गरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिए।


