शिक्षक राजनीतिक दलको झोले बन्‍नु हुँदैन : अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस ११ पुष २०७९ १३:५७ | Monday, December 26, 2022
शिक्षक राजनीतिक दलको झोले बन्‍नु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षकको क्षमता विकास गर्दै सम्मानित महसुस हुने खालको सेवासुविधा राज्यले उपलब्ध गराउनुपर्ने बताएका छन्।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले आयोजना गरेको ‘सार्वजनिक शिक्षा सम्मेलन २०७९’ मा बोल्दै अध्यक्ष तिमिल्सिनाले शिक्षकलाई आदर र सम्मान दिन आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘शिक्षण पेसाप्रति दक्ष जनशक्तिलाई आकर्षित गर्नुपर्छ। शिक्षक आफू झोले बन्ने र राजनीतिक दलले पनि झोले नै सम्झने परिवेशको अन्त्य हुनुपर्छ। शिक्षामा लगानीअनुसारको प्रतिफल छैन। शिक्षामा सुधार गर्न विषय शिक्षक पनि चाहिन्छ।’

देश विकास गर्न चौतर्फी विकास गर्नुपर्ने भए पनि शिक्षा सुधार प्रमुख भएको अध्यक्ष तिमिल्सिनाले बताए। उनले शिक्षा सुधारमा अभिभावक, शिक्षक सबैको दायित्व हुने र सरकारी एवं निजी विद्यालयबीचको विभेदको अन्त्य हुुनुपर्ने बताए।

‘शिक्षामा हुने विभेदलाई हटाउनुपर्छ, विद्यालयलाई प्रतिस्पर्धी बनाउनुपर्छ,’ उनले भने, ‘परिवर्तनको आवश्यकता छ। शिक्षामा राजनीतिक भागबन्डाभन्दा पनि योग्यलाई नियुक्त गर्नुपर्छ।’

फरक प्रसंगमा बोल्दै उनले शिक्षा मन्त्रालय राजनीतिक भागबन्डामा परे पनि कुनै पनि मन्त्री, सचिव मन्त्रालय सम्हाल्ने योजनासहित नियुक्त नभएका कारण सधैँ अन्योलग्रस्त बन्ने गरेको बताए।

कार्यक्रममा शिक्षाको अवस्थालाई चित्रण गर्ने खालका कार्टुनहरू पनि प्रदर्शन गरिएको थियो।

प्रकाशित: ११ पुष २०७९ १३:५७ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast