मधेशमा उथलपुथल, एमाले गठबन्धनलाई सहज बहुमत

हिमाल प्रेस ११ पुष २०७९ ९:०६ | Monday, December 26, 2022
मधेशमा उथलपुथल, एमाले गठबन्धनलाई सहज बहुमत

जनकपुरधाम- नेकपा एमालेले माओवादी केन्द्रसहित अन्य दलहरूसँग मिलेर सरकार गठन गरेपछि त्यसको असर मधेश प्रदेश पनि पर्ने देखिएको छ।

मधेश प्रदेशमा आइतबार दिउँसोसम्म नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने देखिएको थियो। तर, माओवादी केन्द्र पाँच दलीय गठबन्धनबाट अलग्गिएपछि उक्त पार्टीले सत्ता गुमाउने निश्चित भएको हो।

संघमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टी र नागरिक उनमुक्ति पार्टीको गठबन्धन बनेको छ। यी दलहरू केन्द्रमा मिल्दा संघमा मात्र नभई प्रदेशमा समेत नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग निश्चित भएको छ।

मधेश प्रदेशमा कुल १०७ सदस्यीय प्रदेशसभा छ। बहुमतका लागि यस प्रदेशमा ५४ सांसदको आवश्यकता रहन्छ। मधेश प्रदेशसभामा एमालेले २३, जसपा १६, जनमत पार्टी १३, माओवादी केन्द्र ८, राप्रपा र नागरिक उनमुक्ति पार्टीबाट १/१ प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।

यदि संघकै सत्ता समीकरणको हिसाबले हेर्ने हो भने मधेश प्रदेशमा सरकार बन्दा एमाले नेतृत्वको गठबन्धनलाई सहजै बहुमत पुग्ने देखिन्छ। यी दलहरूको प्रदेशसभा सदस्यको संख्या जोड्दा बहुमतका लागि आवश्यक ५४ सिटभन्दा ८ सिट बढी ६२ सिट पुग्छ।

एमाले नेतृत्वको गठबन्धनले मधेश प्रदेशमा बहुमत पुर्‍याए पनि एमालेले सत्ताको नेतृत्व गर्ने सम्भावना कमै रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। मधेश प्रदेशको सरकारको नेतृत्वका लागि फेरि जसपाले नै दाबी गर्ने सम्भावना बढेको छ।

यता जनमत पार्टीका अध्यक्ष सीके राउतले समेत मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी गर्दै आएका छन्।

प्रकाशित: ११ पुष २०७९ ९:०६ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast