कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

हिमाल प्रेस १३ माघ २०८० १८:४२
16
SHARES
कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

काठमाडौँ- नेपाली पत्रकारिताको अभ्यासका क्रममा हुने कमजोरीलाई केलाएर प्रस्तुत गरिएको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ। खोज पत्रकारका रुपमा परिचित कलेन्द्र सेजुवालले लेखेको उक्त पुस्तक आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विमोचन गरे।

पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक विमोचन कार्यक्रमका सहभागीले अखबारी पत्रकारिताको पहिलो पृष्ठमा हुने कमजोरीलाई पुस्तकले विषयवस्तुका आधार बनाएको बताएका छन्। खोज पत्रकारितामा सक्रिय सेजुवालको उक्त पुस्तक पत्रकारिता क्षेत्रमा अर्को इँटा थपिएको विज्ञहरुको भनाइ थियो।

पुस्तकको केन्द्रमा सुर्खेतबाट प्रकाशित पत्रिकाहरुका फ्रन्ट पेज (पहिलो पृष्ठ)समावेश गरिएका छन्। साथै एफएम रेडियो र टेलिभिजनका प्रमुख, प्रदेश सीमांकन आन्दोलनमा सुर्खेतका सञ्चारमाध्यमको भूमिकालगायत विषयवस्तु समेटिएका लेखक सेजुवालले बताए।

सांसद कान्तिका सेजुवालले फल्स फ्रन्ट पेज समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदन रहेको भन्दै यसले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सुक्ष्म ढंगले उठान गरिएकाले यो पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गरे। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवम् महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे।

महासंघका पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे।

पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गरिन्। पुस्तकका लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढंगले प्रस्तुत गरिएको उल्लेख बताए।

प्रेस फ्रिडम मिडिया प्रा.लि.ले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य ५०० रहेको छ। पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले जानकारी दिए। पत्रकार सेजुवाल विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। उनी हाल नेपाल पत्रकार महासंघ कोषाध्यक्ष हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast