बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रधानमन्त्री

हिमाल प्रेस ९ माघ २०८० १४:५२ | Tuesday, January 23, 2024
बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गरेका छन्। बूढीगण्डकी आयोजनालाई अगाडि बढाउनेसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले आयोजना निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन्।

बैठकमा प्रधानमन्त्रीले भने, ‘बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयामिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।’

जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्योलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशनसमेत दिए।

प्रधानमन्त्रीले भने, ‘४३ अर्ब मुआब्जा वितरण भइसक्यो। थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ। फिल्ड अफिस स्थापना गरेर उद्घाटनसमेत भइसक्यो। अब पनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोच्नुहुँदैन। आयोजना अगाडि बढाउनैपर्छ। तपाईँहरू छिटो अगाडि बढ्नुस्।’

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले लगानीका स्रोतहरूको खोजी र परिचालनमा तीव्रता रहेको बताए। बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले बूढीगण्डकी आयोजना अगाडि बढाउन पेट्रोलियम पदार्थमा लगाइएको रू. १० पूर्वाधार करमध्ये रू. ५ बूढीगण्डकीका लागि विनियोजन गर्ने निर्णय भइसकेको जानकारी गराउँदै कोष सञ्चालन गरिरहेका सरकारी संरचनाको पुँजी आयोजनामा परिचालन गर्न आवश्यक समन्वय र पहल हुनुपर्ने धारणा राखे।

त्यस्तै बूढीगण्डकी जलविद्युत् लिमिटेडका आयोजना प्रमुख जगत श्रेष्ठले आयोजनाको स्थिति, प्रगतिको अवस्था र आगामी योजनाबारे आफ्नो प्रस्तुति राखे। बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थसचिव कृष्णहरि पुष्कर, ऊर्जासचिव, प्रधानमन्त्री कार्यालयका सचिवहरू, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू र बूढीगण्डकी जलविद्युत् लिमिटेडका अधिकारीहरू उपस्थित थिए।

प्रकाशित: ९ माघ २०८० १४:५२ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast