सुर्खेत- सुर्खेतका धार्मिक तथा प्राकृतिक सम्पदा स्थलहरूमा अचेल चहलपहल बढेको छ। यी क्षेत्र बाहिरी जिल्लाबाट पर्यटकले भरिभराउ भएका हैनन्। जाडोयाम लागेपछि जिल्लाकै विभिन्न वनभोज (पिकनिक) खान र घुम्न जाने विद्यार्थीको बाक्लो उपस्थिति देखिएको हो।
सुर्खेतका बुलबुले ताल, देउतीबजै, काँक्रेविहार, सहिदपार्क, बराहताल, मेहेलकुनाजस्ता पर्यटकीयस्थल हुन्। यी क्षेत्र वनभोजका लागि चर्चित छन्। साथै वनक्षेत्रमा रहेका ‘पिकनिक स्पट’ पनि धमाधम बुकिङ भइरहेको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू बताउँछन्। यसबाहेक छिमेकी सल्यानको कुपिन्डे दहमा पनि वनभोज खानेको भीड बढेको छ। दहमा डुंगामा रमाउन पनि पाइने भएकाले विद्यार्थी त्यता जान मन पराउने शिक्षकहरू बताउँछन्।
विद्यालय तहको अन्तिम परीक्षा आउन बाँकी रहेको र मौसम पनि चिसो रहेकाले उनीहरूलाई भ्रमण र वनभोजमा सहभागी गराइएको विद्यालय सञ्चालकहरूले बतए। बालबालिकालाई यस्ता गतिविधिमा संलग्न गराउनेमा निजी विद्यालय अगाडि छन्।
गोल्डेनबड एकेडेमीका प्रिन्सिपल वेदप्रसाद ढकाल अभिभावक एवम् बालबालिकाको रोजाइमा भ्रमण र वनभोजमा लैजाने गरिएको बताउँछन्। उनी भन्छन्, ‘बालबालिकाले कक्षाकोठामा पढाइका कुरा सिक्छन् भने भ्रमण र वनभोजमा जाँदा उनीहरूलाई मनोरञ्जनाका साथै सामाजिक बन्न सहयोग पुग्छ।’
ब्राइटल्यान्ड सेकेन्डरी स्कुलका प्रिन्सिपल माधव भण्डारी पनि सुर्खेतका निजी विद्यालयमा जाडो बिदामा कक्षा सञ्चालन नभए पनि बालबालिकालाई अन्य गतिविधिमा सामेल गराउँदै आएको बताए। उनले भने, ‘प्याब्सनले पनि जाडो बिदा दिनुपर्छ भनेर निर्देशन दिँदैन। त्यसैले हामी बिदा दिँदैनौँ।’ विद्यालयमा पठनपाठनमा असर नपर्ने गरी गर्मीका बेला भने बिदा दिइने गरिएको उनी बताउँछन्।
प्याब्सन कर्णालीका सचिव प्रकाश शाहीले जाडोयाममा बालबालिकालाई सुर्खेतका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको भ्रमण गराउने गरिएको जानकारी दिए। उनी भन्छन्, ‘जिल्लामा रमणीय र घुम्नलायक ठाउँ धेरै छन्। ती ठाउँको भ्रमण गराउँदा उनीहरूमा थप ज्ञान हुन्छ, रमाउँछन् पनि।’ सोहीअनुसार विद्यालयहरूलाई निर्देशन दिइएको उनले बताए।
यी क्षेत्रमा सुर्खेतबाट मात्र नभई अन्य जिल्लाबाट वनभोज खान आउनेहरूको संख्या बढेको छ। कात्तिकदेखि फागुनसम्म वनभोज स्थलमा बढी चहलपहल हुने सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू बताउँछन्।
भैरव सामुदायिक वन उपभोक्ता समितिकी सचिव यामकुमारी चालिसे मंसिरयता पिकनिकको तयारीले वन क्षेत्रमा चहलपहल हुने बताउँछिन्। उनी भन्छिन्, ‘वन क्षेत्रका खोल्साखोल्सी र चौर पनि पर्न खाली देखिँदैनन्।’
चालिसेका अनुसार वनक्षेत्रमा कात्तिकदेखि फागुनसम्म वनभोज खानेहरू आउँछन्। पुसमाघमा भने विद्यालयका बालबालिका बढी आउँछन्। अन्य दिनको तुलनामा शनिबार बढी भीडभाड हुने गरेको छ। उनका अनुसार सामुदायिक वनहरूले कम्तीमा १० देखि २० वटा सम्म पिकनिकस्थल बनाएका छन्।
यस्ता ठाउँ शान्त र हरियाली वातावरणले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको वीरेन्द्र नगरपालिका–१० का हरि आचार्य बताउँछन्।
वनभोजका लागि यी ठाउँ रोजाइमा पर्न थालेपछि वीरेन्द्र नगरपालिकाले योजनाबद्ध विकासका लागि चासो दिन थालेको छ। नगरपालिका क्षेत्रका वनभोज स्थललाई व्यवस्थित गर्न थालिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल बताउँछन्। उनी भन्छन्, ‘वनभोजस्थलको विकास, प्रवर्धनन र प्रयोगबारे योजनाबद्ध काम थालिएको छ। नगरभित्रका प्रमुख धार्मिक, पर्यटकीय र वनभोज पहिचान गरेर यिनको विकासका लागि योजनाबद्ध काम थालेका छौँ।’ पर्यटीकीय क्षेत्रलाई व्यवस्थित बनाउन सकेमा नियमित आम्दानीको स्रोत बन्ने उनी बताउँछन्।