सिरहा- चिसो बढेपछि जनजीवन प्रभावित भएको भन्दै सिरहाका तीन पालिकाले एक साता जाडो बिदा दिएका छन्।
सिरहाको गोलबजार तथा लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयमा एक साता जाडो बिदा दिएका हुन्।
शीतलहर र चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यही पुस २५ देखि २९ गतेसम्म बिदा दिइएको गोलबजार नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाले जानकारी दिए।
लहान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २९ पुससम्म हिउँदे तथा १ माघमा माघे संक्रान्ति बिदालगत्तै २ माघदेखि विद्यालय नियमित सञ्चालन हुने जनाएको छ।
लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा शाखा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाए।
गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन अध्यापन प्रभावित हुने भएकाले बर्से बिदाबाट कट्टा हुने गरी मंगलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ।
केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ। बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो।

                                             
                                             
                                             
                                             
                                             
                                             

