काठमाडौँ- पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ।
संघीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौँमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ।
‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ’, मौसमविद् अधिकारीले भने।
जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ।