पदमार्गमा जोडियो बतासे झरना

हिमाल प्रेस ८ पुष २०८० १९:५३ | Sunday, December 24, 2023
पदमार्गमा जोडियो बतासे झरना

कञ्चनपुर- गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातेर पहाड उक्लिँदै शुक्लाफाँटा नगरपालिका-८ स्थित बतासे झरना पुग्ने गर्दथे। अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ। ढुंगा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ।

पहाडमाथि उक्लिने ठाउँमा ढुंगाका खुट्किला निर्माण गरिएका छन्। तेर्सो बाटोमा सहजरूपमा हिँड्न मिल्ने गरी ढुंगालाई एक नासले मिलाएर बिच्छ्याइएको नगरपालिकाका प्राविधिक धीरज ऐरले बताए। खोलाखल्सीमा कल्भर्टका लागि ठाउँ छाडिएको बताउँदै उक्त स्थानमा पर्यटन बोर्डको १० लाख रूपैयाँ लागतमा कल्भर्ट निर्माण गरिने उनले जानकारी दिए।

नगरपालिका र जीविकोपाजर्न पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरटी) बीच भएको लागत साझेदारी कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण गरिएको ऐरले बताए। परियोजनाको कुल लागत ३० लाख ५० हजार रहेकामा सम्झौता अनुसार १५ लाख ५० हजार नगरपालिका र १५ लाख एसटीएलआरटीले व्यहोर्ने उनले जानकारी दिए।

२१ लाख ९० हजारको लागतमा उपभोक्ता समितिमार्फत तीन किलोमिटर पद्मार्ग निर्माण पूरा गरिएको प्राविधिक ऐरले बताए। ३ लाख ५० हजारको लागतमा होमस्टे तथा उद्यम सिर्जना गर्ने तालिम, होमस्टे नम्बरिङ र सूचना बोर्ड निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए।

ऐरका अनुसार बतासे झरना क्षेत्रमा १ लाख ५० हजारमा ‘थ्रि डि भिजेवल बोर्ड’ जडान गरिएको छ। झरना क्षेत्र पुग्ने मार्गका पचास ठाउँमा १ लाख ५० हजारमा पर्यटकीय संकेत चिह्न राखिएका छन्। पर्यटकीय क्षेत्रअन्तर्गत ठाउँठाउँमा ५० वटा फोहर विन्स जडान गरिएका उनको भनाइ थियो।

पदमार्गमा पर्यटकीय संकेत चिह्न, फोहर संकलनका लागि विन्सका साथै होमस्टे नम्बरिङ र सूचना बोर्ड राखेपछि पर्यटकलाई यात्रा गर्न सहज भएको शुक्लाफाँटा-८ का वडाध्यक्ष बहादुरसिंह महराले बताए।

पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई फाइदा पुग्नुका साथै यहीँ मार्ग हुँदै सामान पिठ्यूँमा बोकेर डडेल्धुराको पर्शुराम नगरपालिकातर्फ जानेलाई पनि सहज भएको छ। पिठ्यूँमा पसलको सामान भरियामार्फत बोकाएर हिँड्ने गरेकामा पदमार्ग निर्माणले आवतजावतमा सहजता थपेको व्यापरी धनबहादुर विष्टले बताए।

मोहन महरका अनुसार पर्यटकीय गन्तव्यका रुपमा झरना खोला पार गर्दै पहाडका बासिन्दाले हिँडडुल गर्दै आएका छन्। तीन किलोमिटरको पदमार्ग निर्माण गर्न ४५ दिन लागेको निर्माण समितिका अध्यक्ष कमल सिंह महराले जानकारी दिए। उनका अनुसार पदमार्ग निर्माणमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

पर्यटकीय पदमार्ग निर्माण भएसँगै झरना जाने विश्रामस्थलका रुपमा रहेको धारापानी गाउँका बासिन्दाले पनि रोजगारी पाएका छन्। गाउँ घरमा उत्पादन हुने तरकारी, फलफूल, दूध, दही, ध्यू, कुखुरा, खसी, बोकालगायत कृषि उपज बिक्री हुन थालेका छन्। युवाहरुले गाउँमै पसल खोलेर आम्दानी लिन थालेका छन्।

पहिले भारत तथा अन्य जिल्लामा मजदुरीका लागि जाने धारापानीका साइम धामीले पसल सञ्चालन गरेपछि आम्दानी बढ्न थालेको बताए।

डडेल्धुराको पलगडी, सुवाखान, जमिर खाली, बरे गडा, पातली, सिमलबण्ड, गैरेपातल, सल्लेगुडी गायत क्षेत्रका बासिन्दा यसै मार्ग भएर तराई पुग्नका लागि ओहोरदोहोर गर्ने गर्दछन्।

सडक मार्गको पानी चुहिने ठाउँमा पक्की नाली निर्माण गरी पहिरो रोक्नुपर्ने स्थानीयवासीको माग छ। अहिले धारापानी गाउँसम्म पर्यटकले मोटरसाइकल, जीप, बस लगायतका साधनबाट पुग्ने गरेका छन। धारापानीबाट उत्तरतर्फको क्षेत्रमा बनाइएका पदमार्ग भएर झरना पुगिन्छ। कलकल गर्दै पहाडको माथिबाट बग्दै गरेको झरनाको मनमोहक दृश्य नियाल्नका लागि गर्मी मौसममा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन्।

झरनालाई गाउँका बासिन्दाले छेकुवा भन्ने गर्दथे। नगरपालिका गठनसँगै जनप्रतिनिधि आएपछि पर्यटकीय क्षेत्रको खोज गर्ने क्रममा भेटिएको झरनाको नाम बतासे राखेका हुन्। दुई सय फिट माथिको पहाडबाट बग्ने झरना भूइँमा खस्दा त्यसका छिटा चिसो हावासँगै चारैतिर फैलिने भएकाले यसको नाम बतासे राखिएको पदमार्ग निर्माण समितिका अध्यक्ष महराले जानकारी दिए।

प्रकाशित: ८ पुष २०८० १९:५३ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast