काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ।
निर्वाचनमा सहभागी हुन इच्छुक दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ। यही मंसिर २४ देखि आज २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउँछन्।
राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचामा निर्वाचन आयोग काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको थियो।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ।
प्रकाशित: २९ मंसिर २०८० ६:२४ | Friday, December 15, 2023
प्रतिक्रिया




