काठमाडौँको लैनचौरस्थित एनसेलको कर्पोरेट भवन। तस्बिर : हिमालप्रेस
काठमाडौँ- एनसेलको ८० प्रतिशत सेयर स्वामित्व लिने सम्झौता गरेका व्यवसायी सतिशलाल आचार्यले प्रतिस्पर्धाबाट आफ्नो कम्पनी छनोट भएको बताएका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै आचार्यले भनेका छन् ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेका कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट यूके लिमिटेड थुप्रै प्रतिस्पिर्धीमध्येबाट छानिएको हो।’
सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको उनले बताएका छन्। सहमति भएको सम्झौताअनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभ नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ।
आचार्यले भनेका छन्, ‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ। जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ।’
एनसेलले पनि विज्ञप्ति जारी गर्दै आजको दिनसम्म सबै कर दायित्व पूर्ण रूपमा पालना गरेको बताएको छ। एनसेलले यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार हुने पनि बताएको छ। खरिदबिक्रीको सम्झौतापछि फैलिएका अफवाहबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको एनसेलको भनाइ छ।


