एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढायो

हिमाल प्रेस १६ भदौ २०८३ १४:५४ | Tuesday, September 1, 2026
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढायो

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।

कम्पनीले शनिबारदेखि लागू हुने गरी सेवा अवधि एक हप्ता थपिएको जनाएको छ। यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराइएको थियो। उक्त तीन दिने अवधि शुक्रबार सकिने भएपछि सेवा अवधि पुनः विस्तार गरिएको हो।

एनसेलका अनुसार विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रभावित समुदायलाई परिवार, आफन्त तथा उद्धारकर्मीहरूसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको हो।

कम्पनीका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को कठिन घडीमा सञ्चार पहुँच कायम राख्नु आवश्यक रहेको उल्लेख गर्दै कम्पनीको योगदानले प्रभावित समुदाय र उद्धार टोलीबीच आवश्यक समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

१८ वटा टावर पुनः सञ्चालनमा

एनसेलले बाढीका कारण अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार बाँकी ९ वटा प्रभावित टावर पुनः सञ्चालनमा ल्याउन पनि काम भइरहेको छ।

यसअघि कम्पनीले खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो।

बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै कम्पनीले एसएमएस तथा आफ्ना सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाहलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित: १६ भदौ २०८३ १४:५४ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast