सरकारीकरण हुन नदिन एनसेल बिक्री

मस्त केसी १८ मंसिर २०८० १६:५३
16
SHARES
सरकारीकरण हुन नदिन एनसेल बिक्री काठमाडौँको लैनचौरस्थित एनसेल आजियाटाको कर्पोरेट भवन। तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

खरिद मूल्यभन्दा ९५ प्रतिशत कममा एनसेलको शंकास्पद किनबेच भएको छ। ६ वर्षपछि सरकारको स्वामित्वमा जान नदिन गरिएको सेयर खरिदबिक्रीको नालीबेली

निजी क्षेत्रको ठूलो दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री भएको छ। मलेसियन कम्पनी आजियाटा नेपालको एनसेलमा रहेको सम्पूर्ण सेयर बिक्री गरेर बाहिरिएको हो। आजियाटाको उक्त सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडले किनेको छ।

आजियाटाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा उक्त सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको छ। जबकि आजियाटाले सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग १ अर्ब ३६ करोड अमेरिकी डलर (तत्कालीन विनिमय दरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा किनेको थियो।

सात वर्षपछि परल मूल्यको ५ प्रतिशतमा सेयर बिक्री गरेपछि यसमा थुप्रै आशंका उब्जिएको छ। यसमा बुझ्नुपर्ने के छ भने सन् २०२९ सम्म एनसेलको लाभांश आजियाटाले नै पाउनेछ। लाभांश आजियाटाले पाउने भनिए पनि कम्पनीको नियन्त्रण कसको रहने कतै उल्लेख छैन। साथै यसबारे नियामक निकायले समेत जवाफ दिन सकेको छैन।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे एनसेलको सेयर स्वामित्व हस्तान्तरणको सम्झौतामात्रै भएको र दायित्व हस्तान्तरण नभइसकेको बताउँछन्। उनी भन्छन्, ‘यसबारे अहिले धेरै भन्न सकिँदैन।’

हिमालप्रेसलाई प्राप्त जानकारीअनुसार आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच आगामी दिनमा हुने लाभांशको बाँडफाँटसमेत भइसकेको छ। जसअनुसार सन् २०२३ को प्रतिफलबाट आजियाटाले ८० प्रतिशत लाभांश लैजानेछ। २०२४ र २०२५ मा ४० प्रतिशत लाभांश, २०२६ र २०२७ मा ३० प्रतिशत र २०२८ र २०२९ मा २० प्रतिशत लाभांश आजियाटाले पाउनेछ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो। यसको लगानीकर्ता नेपाली मूलका व्यवसायी सतिशलाल आचार्य हुन्। आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन्। सुनिभेरा क्यापिटल भेन्चर नेपालमा दर्ता भएको कम्पनी हो। जसको सञ्चालकमध्ये एक आचार्यकी श्रीमती भावना सिंह छिन्। ८० प्रतिशत सेयर पनि खरिद गरेसँगै एनसेल पूर्ण रूपमा आचार्यकै स्वामित्वमा गएको छ।

एनसेलको सेयर खरिद गर्ने सम्झौतापछि विज्ञप्ति जारी गर्दै आचार्यले ग्राहकलाई परिस्कृत सेवा गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले भनेका छन्, ‘एनसेलको सेयर खरिद गर्न पाउँदा स्पेक्ट्रलाइट यूके खुसी छ। मेरो बृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौँ ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको स्वामित्वमा भएको परिवर्तनमा व्यवस्थापन खुसी भएको बताएका छन्। कायुमोभले त घुमाउरो शैलीमा एनसेल नेपाली कम्पनी भइसकेको बताएका छन्। ‘नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको अग्रणी नेपाली कम्पनीका रूपमा अघि बढाउन हामी तत्पर छौँ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुन्छ। २५ वर्षपछि ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका कम्पनी पूर्ण रूपमा सरकारी स्वामित्वमा जाने व्यवस्था छ। यसअनुसार सन् २००४ मा स्थापना भएको एनसेल अबको करिब ६ वर्षपछि सरकारी स्वामित्वमा आउने थियो। यही बीचमा एनसेल किनबेच भएको छ।

ऐनअनुसार दूरसञ्चार कम्पनीको सेयर ५० प्रतिशतभन्दा बढी नेपाली नागरिकको स्वामित्वमा पुर्‍याउन सके यो व्यवस्था लागू हुँदैन। कम्पनीलाई सरकारी स्वामित्वमा पुग्न नदिन एनसेलले यसअघि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको थियो। सेयर जारी गरी नेपालीकै स्वामित्व ५० प्रतिशत पुर्‍याउने एनसेलको भित्री तयारी थियो। तर त्यही बेला नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन नियमावली संशोधन गर्‍यो। संशोधित नियमावलीले इजाजतपत्रको अवधि १० वर्षभन्दा कम रहेका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गर्‍यो। यही कारण एनसेलको आईपीओ जारी गर्ने तयारीमा ब्रेक लाग्यो र कम्पनी खरिदकर्ताको खोजीमा लाग्यो। एनसेलको इजाजतपत्र सन् २०२९ मा सकिँदैछ।

सन् २००४ मा स्पाइस नेपालका नाममा स्थापना भएको कम्पनीले २००५ मा मेरो मोबाइलमार्फत दूरसञ्चार सेवा सुरु गरेको थियो। सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले तत्कालीन ‘मेरो मोबाइल’ को सेयर खरिद गर्‍यो। त्यसपछि कम्पनीको नाम स्पाइस नेपालबाट एनसेल हुन पुग्यो।

२०१६ अप्रिलमा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर स्वामित्व लियो र कम्पनीको नाम एनसेल आजियाटा लिमिटेड राखियो। आजियाटाको लगानी रहेको अन्य देशका कम्पनीमा पनि एनसेलजस्तै लोगो र कम्पनीको नाम आजियाटा नै छ।

नियामक नै बेखबर

एनसेलको सेयर खरिदबिक्री यति द्रुत गतिमा भयो कि सरकारी निकायलाई जानकारी नै दिइएन। नियामक निकायलाई जानकारी नगराई सेयर बिक्रीका लागि विज्ञप्ति जारी भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई मंसिर १५ गते स्पष्टीकरण सोधेको थियो। दूरसञ्चार नियमावलीअनुसार चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी स्वामित्व किनबेच गर्दा नियामकको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेल भन्छन्, ‘सेयर बिक्रीकका लागि आजियाटाले विज्ञप्ति जारी गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो। तर सोही दिन नियामकलाई जानकारी नदिई सेयर स्वामित्व हस्तान्तरण सम्झौता भएको पाइयो। हामी थप अध्ययनमा लागेका छौँ। कानुनअनुसार कारबाही अगाडि बढ्छ।’

लेखा समितिको चासो

नियामकको स्वीकृति नलिई आजियाटाले सेयर बिक्री गरेपछि संसदीय समितिले एनसेल खरिदबिक्री सम्बन्धमा अध्ययन गर्ने भएको छ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखासमितिले बिक्री प्रक्रिया, कर र मूल्यका विषयमा अध्ययन गर्ने जनाएको छ।

समितिले खरिदबिक्री कानुन पालना भए/नभएको, नियामकलाई जानकारी दिए/नदिएको, आजियाटाले खरिद गरेको मूल्यभन्दा निकै कममा सेयर स्वामित्व हस्तान्तरलगायत विषयमा अध्ययन गर्नेछ।

समितिले कारोबार शंकास्पद देखिएपछि समितिले ९ बुँदे प्रश्नसमेत उठाएको छ। लाइसेन्सको म्याद सकिँदा हुने जोखिम, वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएका कारण कम्पनीको अस्तित्व खतरामा आउने कारण उल्लेख गरेको सन्दर्भमा नेपाललाई पर्न सक्ने प्रभाव, स्वामित्व हस्तान्तरणका क्रममा कम्पनीलाई तिर्नुपर्ने करलगायत विषयमा समितिले जिज्ञासा राखेको हो।

संसदीय समितिले करिब ६ वर्षपछि कानुनबमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै त्यसलाई समेत असर पर्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने/नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के हो? भनेर दूरसञ्चार प्राधिकरणलाई समेत प्रश्न गरेको छ।

यही प्रश्न प्राधिकरणका निर्देशक अर्जुन घिमिरेलाई सोध्दा उनले एनसेलबारे अहिले धेरै नबोल्ने बताए। ‘प्राधिकरणले स्पष्टीकरण सोधेको छ। त्यसको जवाफ हेर्छौँ। थप अध्ययन पनि गरिरहेका छौँ,’ उनले भने, ‘जे हुन्छ कानुनबमोजिम हुन्छ।’

आजियाटाको सेयर बिक्रीमाथि प्रतिनिधिसभाकी सदस्य सुमना श्रेष्ठले पनि प्रश्न उठाएकी छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार ध्यानाकर्षणपत्र दर्ता गर्दै उनले ५ प्रश्न उठाएकी हुन्। नियामकको स्वीकृति नलिई आजियाटा बाहिरिँदा जरिबाना वा सजाय के हुन्छ? ठूला करदाता कार्यालयले निर्धारण गरेको कर बक्यौता कति छ? जस्ता प्रश्न उठाएकी छन्।

खरिदभन्दा झण्डै ९६ प्रतिशत कममा बेच्नु कर छल्न चालिएको कदम भएको श्रेष्ठको बुझाइ छ। उनले भनेकी छन्, ‘आजियाटाले नेपालबाट बाहिरिँदा निकालेको वक्तव्यले अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा सोको प्रतिकार गर्न माथिका प्रश्नको जवाफ खोज्नुपर्छ।’

घट्दो आम्दानी

कतिपयले दूरसञ्चार कम्पनीहरूको घट्दै गएको आम्दानीले गर्दा आजियाटाले सेयर बेचेको शंका गरेका छन्। तर मलेसियन ‘जाइन्ट’ कम्पनी आजियाटा ग्रुपसँग इन्डोनेसिया, लाओस, श्रीलंका, बंगलादेश, कम्बोडियालगायतका दूरसञ्चार कम्पनीमा लगानी छ। जसले गर्दा आम्दानी घटेकै कारण आजियाटा बाहिरिएको विषयमा दम छैन।

इन्टरनेटको बढ्दो पहुँचले दूरसञ्चार कम्पनीको नाफा संसारभर घटिरहेको छ। एनसेलले आर्थिक वर्ष २०७४/७५ मा ५९ अर्ब ६९ करोड आम्दानी गरेको थियो। त्यसपछिका हरेक वर्ष आम्दानी घट्दो क्रममा छ।

एनसेलले आव २०७५/७६ मा ५५ अर्ब २८ करोड, २०७६/७६ मा ४६ अर्ब ७६ करोड र २०७७/७८ मा ४० अर्ब २२ करोड कमाएको छ। आव २०७८/७९ मा आम्दानी ३९ अर्ब ५० करोड भएको थियो। गत आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोडमा खुम्चिएको छ।

एनसेल खरिद बिक्रीबारे भएको सम्झौतापछिको विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =