अझै ठडिएन भूकम्पले ढालेको गरुडनारायणको मूर्ति

हिमाल प्रेस १४ मंसिर २०८० २१:४१
8
SHARES
अझै ठडिएन भूकम्पले ढालेको गरुडनारायणको मूर्ति

काठमाडौँ- २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार संग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो। मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन्। ठडिएको छैन।

नारायणहिटी दरबार संग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनारायण मन्दिरलाई केही भएन। मन्दिरअघि पाँच फिट उचाइमा स्थापना गरिएको गरुडनारायण भने ढलेको साढे आठ वर्ष पूरा भयो। तर अझै यसलाई उठाउने कोही फेला परेको छैन। मन्दिर क्षेत्रमा रहेको गरुडनारायण मूर्ति पाँच फिटमाथिबाट खसेर भुइँमा ढलेको छ।

हिटी पोखरी संरक्षण समाजका अध्यक्ष तेजश्वी शमशेर राणा तीनै तहका सरकारलाई अनुरोध गर्दा पनि सम्पदा जोगाउने सानो काम हुन नसकेको बताउँछन्। स्थानीय सरकारलाई पनि यो मूर्ति उठाउन पटकपटक अनुरोध गरेको वीरशमशेरको सातौँ पुस्ताका सन्तति उनी बताउँछन्। गरुडनारायण मूर्तिसँगै रहेको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाटी पनि भत्किएको थियो। पाटी पुनःनिर्माणको पनि अझै अत्तोपत्तो छैन।

१७९६ मा धीरशमशेरले यहाँ नारायण मन्दिर स्थापना गरेको परिसरमा राखिएको शिलालेखमा उल्लेख छ। मन्दिर परिसरमै ठूलो घण्ट भने १९३१ राखिएको थियो। कमलको फूल शैलीको यो मन्दिरमा २०७७ देखि अर्जुन क्षत्रीले पूजा गर्दै आएका छन्। उनी २०७२ देखि मन्दिरको सेवामा लागेका हुन्। तत्कालीन पुजारी भोलाप्रसाद पन्तले गुठी संस्थानलाई पत्र लेखी क्षत्रीलाई पुजारी नियुक्त गर्न अनुरोध गरेका थिए।

२०७७ अघि मन्दिर क्षेत्रमा विकृति, विसंगतिका घटना बढ्न थालेपछि स्थानीयवासीले हिटी पोखरी संरक्षण समाजको गठन गरी यसको रेखदेख गर्दै आएका छन्। पुजारी क्षेत्री यो समाजको उपाध्यक्षका रूपमा पनि सक्रिय छन्।

समाजले खसेको गरुडनारायणको मूर्ति माथि राख्न सरोकार भएका गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई अनुरोध गर्दै आए पनि कसैले काम गरेका छैनन्। काठमाडौँ महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ भने सम्पदा संरक्षणका लागि वडाले सक्दो सहयोग गर्दै आएको दाबी गर्छन्।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको हिटी पोखरीमा अहिले पनि दुई वटा धाराबाट पानी आउने गरेको छ। पिउन योग्य पानी भएकाले यहाँ पानी लिन आउनेको पनि भीड लाग्ने गर्छ। सडकपेटीबाट पैदल हिँड्ने कति मानिस यहाँ पानी पिउन जाने गरेका छन्। नारायणहिटी दरबारको नामकरणमा यो हिटीको पनि नाम जोडिएको छ।

दरबारमार्गको व्यस्त स्थलमा रहेको खुला ठाउँ भएकाले यहाँ वरपरका कार्यालयमा काम गर्नेहरू धूमपान गर्न आउने गरेका छन्। कानुनी व्यवस्थाअनुसार सार्वजनिक स्थलमा बसेर धूमपान गर्न पाइँदैन। तर धीरनारायण मन्दिरसमेत रहेको हिटी पोखरी क्षेत्र भने धूमपान गर्नेको अखडा बन्दै गएको पुजारीसमेत रहेका समाजका उपाध्यक्ष क्षत्रीले सुनाए।

विकृतिको अखडा बन्दै गएपछि मन्दिर क्षेत्रमा राखिएका सामान पनि हराउन थालेका छन्। स्थानीय योगेश मिश्र तीनै तहका सरकारले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वको हिटी पोखरी क्षेत्रलाई बेवास्ता गर्दा समस्या बढेको बताउँछन्। नारायणहिटी दरबार संग्रहालय क्षेत्रमै पर्ने भए पनि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यस क्षेत्रको रेखदेखमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ।

समितिका सूचना अधिकारी पुरुषोत्तम थापा राजा महेन्द्रको पालामा सडक बनेर हिटी पोखरी पारि परे पनि नारायणहिटी दरबार क्षेत्रकै भागका रुपमा रहेको स्वीकार गर्छन्। दरबार संग्रहालयको सुरक्षाका लागि नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म राखिएको छ। यसको ध्यान हिटी पोखरी क्षेत्रमा नपरेको गुनासो स्थानीयवासीले गरेका छन्।

गुल्मका प्रहरी निरीक्षक सविनकुमार सङ्ग्रौला नारायणहिटीको नारायणस्थान मन्दिरमा प्रहरीले सुरक्षाका लागि पहरा दिने गरे पनि हिटी पोखरी क्षेत्रमा भने प्रहरी कार्यालय दरबारमार्गले हेर्ने गरेको बताउँछन्। सीसी क्यामेरा जडान गरेर नारायण मन्दिर क्षेत्रबाटै हेर्न सकिने गरी व्यवस्थापन गर्न सुझाव दिएको उनले सुनाए। रासस

प्रकाशित: १४ मंसिर २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast