लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु

हिमाल प्रेस ९ मंसिर २०८० ७:२०
10
SHARES
लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु

काठमाडौँ- आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस।

संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूत, घरेलु महिला हिंसाजस्ता कुप्रथाका कारण अझैपनि केही महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएका उल्लेख गरेका छन्।

महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानका सन्दर्भमा आज जारी गरेको सन्देशमा उनले समाजमा विद्यमान विकृति र विसंगतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले नेपाली दिदी बहिनीले भोग्नु परिरहेका विभिन्न प्रकारका समस्याबाट मुक्तिका साथै सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको भए तापनि विभेद र अपमानका पीडा खप्न बाध्य भएको उल्लेख गरे।

यसैबीच, उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई शिक्षित, स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरूविरुद्ध हुने लैंगिक, मानसिक, सामाजिक र आर्थिक हिंसा निर्मूलका लागि सबैजना दत्तचित्त भई आआफ्नो स्थानबाट सहयोग र चेतना फैलाउनु आजको आवश्यकता भएको उल्लेख गरेका छन्।

महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा स्वदेशसहित विश्वभरका सम्पूर्ण महिला दिदीबहिनीहरुको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै दिवसलाई कानुनले निषेध गरेको महिलाविरुद्धको सबै खाले हिंसाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा सबैले लिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ९ मंसिर २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast