दुर्गा प्रसाईको चेतावनी : आन्दोलन अब ‘श्रीलंका स्टाइल’मा अघि बढ्छ

हिमाल प्रेस ७ मंसिर २०८० १९:४८ | Thursday, November 23, 2023
दुर्गा प्रसाईको चेतावनी : आन्दोलन अब ‘श्रीलंका स्टाइल’मा अघि बढ्छ

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ। शुक्रबारबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईले घोषणा गरेका हुन्।

आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अब ‘श्रीलंका स्टाइल’ले अघि बढ्नेसमेत चेतावनी दिए। गत वर्ष श्रीलंकामा चरम आर्थिक संकट भएपछि आन्दोलन भएको थियो। आन्दोलनका क्रममा राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका थिए। उनले सिंगापुरबाटै राजीनामा दिएका थिए। यद्यपि उनी पछि स्वदेश फर्किएका थिए।

प्रसाईले त्यसैलाई इंगित गर्दै ‘श्रीलंका स्टाइल’ भनेका हुन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का नाममा मेडिकल व्यवसायी प्रसाईले काठमाडौँको बल्खुमा बिहीबारदेखि प्रदर्शन सुरु गरेका छन्। साथै एमालेनिकट युवा संघले पनि तीनकुनेमा शक्ति प्रदर्शन गरेको थियो।

प्रदर्शनका क्रममा झडपसमेत भएको थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न तोकेको स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाई पक्षधरलाई रोकेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रसाईको आह्वानमा आन्दोलनमा आएकाहरू सिंहदरबार घेर्न भनी बल्खुबाट कालीमाटीतर्फ प्रवेश गर्न खोजेका थिए। त्यसपछि निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रकाशित: ७ मंसिर २०८० १९:४८ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast