बिदेसिएका साढे चार लाख श्रमिक सामाजिक सुरक्षा कोषमा

हिमाल प्रेस ७ मंसिर २०८० ८:३०
2
SHARE
बिदेसिएका साढे चार लाख श्रमिक सामाजिक सुरक्षा कोषमा

काठमाडौँ- वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन्।

आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो संख्यामा श्रमिक आबद्ध भएका हुन्। यो संख्या चैत ८ देखि मंसिर ५ सम्मको हो ।

कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ। कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताए।

कोषका अनुसार योजनामा हालसम्म नौ लाख १७ हजार २२८ जना आबद्ध भएका छन्। कोषको योजनामा आबद्ध भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक छन् । कोषमा आबद्ध हुनेको अवस्था हेर्दा वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशमा कार्यरतभन्दा वैदेशिक रोजगारीका लागि जानेको संख्या धेरै रहेको उनको भनाइ छ।

विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले संख्या बढी भएको भन्दै प्रवक्ता पन्थीले विदेशमा रहेकाको हकमा कतिपय ठाउँमा कोषको अनलाइन प्रणाली विकास गर्ने क्रममै रहेको र भएका ठाउँमा पनि जनचेतनाको अभाव भएकाले संख्या थोरै भएको बताए।

कोषले चैत ८ देखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गर्न सुरु गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन प्रमुख श्रम गन्तव्यका दूतावासलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्ने विश्वास कोषको छ।

विदेशमा रहेका कतिपय श्रमिकमा योजनाबारे भ्रम रहेका कारण विदेशबाट आबद्धता हुनेको सङ्ख्या लगभग तीन हजार मात्रै रहेको छ। हालसम्म आबद्ध भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन्।

वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन्। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला तथा श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ।

कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार दुई रुपियाँ बुझाउनु पर्छ । रकम एकमुस्ट छ महिना वा एक वर्षसम्मको बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था छ।

कोषका अनुसार यो रकम खल्ती, इसेवा र कनेक्ट आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था गरिएको छ। कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७।४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३।८५ प्रतिशत छुट्याउने गरेको छ।

श्रमिकले न्यूनतम दुई हजार दुई रुपैयाँदेखि अधिकतम २८ हजार रुपियाँसम्म कोषमा मासिक योगदान गर्न पाउँछन् । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये मलेसिया जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन्।

कम्तीमा दुई हजार भुक्तानी गर्नुपर्ने

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले कम्तीमा दुई हजार दुई रुपियाँ सामाजिक सुरक्षा कोषमा मासिक रूपमा भुक्तानी गर्नुपर्ने छ। श्रमिकले स्वेच्छाले तीन गुणाभन्दा बढी अर्थात् २८ हजार १५५ रुपियाँ मासिक योगदानसमेत गर्न सक्ने छन्।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा वा विदेशमा काम गरिरहेको अवस्थामा पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सक्ने छन्।

श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्ने छ। सरकारले १० हजार ८२० न्यूनतम पारिश्रमिक तोकेको छ । कोषमा आबद्ध हुने श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउने छन्।

श्रमिकले भुक्तानी गरेको योगदान रकममध्ये ७.४८ प्रतिशत रकम (७०२ रुपैयाँ) दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुने छ। जसबाट श्रमिकले दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपियाँसम्म पाउने छन्।

श्रमिक अशक्त भएमा मासिक ६० प्रतिशत भुक्तानी हुने छ । वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ। विदेशमा रहेका श्रमिक आबद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ।

त्यस्तै श्रमिकको मृत्यु भएमा अन्तिम संस्कारका लागि २५ हजार भुक्तानी गरिने छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ। वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुस्ट रकम लिने वा निवृत्तभरण योजनामा सहभागी बन्न सक्ने व्यवस्था कोषले गरेको छ। गोरखापत्र दैनिकबाट

प्रकाशित: ७ मंसिर २०८० ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =