आफ्ना समर्थकमाथि युवा संघले आक्रमण गरेको प्रसाईको आरोप

हिमाल प्रेस ६ मंसिर २०८० ११:०२ | Wednesday, November 22, 2023
आफ्ना समर्थकमाथि युवा संघले आक्रमण गरेको प्रसाईको आरोप दुर्गा प्रसाईं। फाइल तस्बिर।

काठमाडौँ– मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफ्ना समर्थकमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन्।

राजधानीमा बिहीबारदेखि आयोजना गर्न लागिएको विरोध प्रदर्शनमा भाग लिन आएका समर्थकमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको उनले बताए।

प्रसाईले भने, ‘मंगलबार १२ बजे राति जडीबुटीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलामाथि युवा संघका कार्यकर्ताले आक्रमण गरी राति नै खेदाएका छन्।’ आफ्ना समर्थकलाई युवा संघका कार्यकर्ताले कोटेश्वर, गौशाला, नयाँ बसपार्क र सुन्धाराका होटलमै प्रवेश गरेर धम्की दिइरहेको पनि प्रसाईले बताए। उनका अनुसार प्रदर्शनमा भाग लिन विभिन्न जिल्लाबाट समर्थकहरू राजधानी आउन थालेका छन्।

उनले भने, ‘युवा संघका कार्यकर्ताले हाम्रो आन्दोलनमा आउने मान्छेलाई प्रहरीसमेत लगाएर खेदाउन प्रयास गरिरहेका छन्।’ विभिन्न जिल्लामा पनि आन्दोलनमा नजान भन्दै धम्काउने गरेको उनको भनाइ छ। प्रसाईले भने, ‘नेकपा एमाले यस्तो पार्टी रछ। लोकतन्त्र कसरी स्वीकारेछ भन्ने प्रश्नसमेत उठेको छ। आन्दोलनमा आएका कार्यकर्तामाथि आक्रमण गर्ने लगाउन केपी ओली लाज लागेन कि?’

एमाले आफ्नो आन्दोलनबाट डराएर आक्रमणमा उत्रिएको उनको आरोप छ। युवा संघले भने प्रसाईका समर्थकमाथि आक्रमण गरेको आरोपको खण्डन गरेको छ। संघका प्रवक्ता निरज पौडेलले युवा संघले त्यसरी कतै पनि आक्रमण नगरेको बताए। उनले भने, ‘हाम्रो तर्फबाट कसैलाई आक्रमण गरिएको छ। आक्रमण गर्ने नीति पनि छैन।’

प्रकाशित: ६ मंसिर २०८० ११:०२ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast