झापा- जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो।
शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो।
उनी दिउँसो दाउरा खोज्न जंगल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी जंगलमै मृत भेटिएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए।
यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ।
स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।