काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निर्माणाधीन सबस्टेसन र प्रसारणलाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए। त्यस क्रममा केही प्रहरी घाइते भएका थिए। प्रहरीले आक्रामणमा संलग्न चार जनालाई पक्राउ गरेको हो।
जिल्ला सुरक्षा समिति,काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो।
प्रभावित जग्गाधनीभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै एक गैरसरकारी संस्थाको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ।
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारणलाइन निर्माणका लागि सहमति जनाउन आग्रह गरेका थिए।
स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भएपनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरूका उक्साहटका कारण सबस्टेसन निर्माणको विरोध भइरहेको जानकारी दिए। सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए।