 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            तनहुँ- तिहार बिदामा पनि पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ। निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तारको काम नरोकिएको हो।
मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलका अनुसार दुई चरणमा गरी सडक विस्तार भइरहेको छ। लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत सडक विस्तार गरिने उनले बताए।
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किलोमिटर विस्तारको प्रगति हालसम्म करिब १२ प्रतिशत मात्र भएकाले बिदामा समेत काम तीव्र रूपमा गर्नु परेको आयोजना प्रमुख पौडेलले बताए।
पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठमा सम्झौता भएको थियो। यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने छ। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ। पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको प्रमुख पौडेलले बताए।
त्यसैगरी ४१.४५ किलोमिटर दूरी रहेको पूर्वी खण्ड विस्तार कार्य तीव्र पारिएको पोखरा–मुग्लिन सडक योजनापूर्वी खण्डका प्रमुख श्याम यादवले जानकारी दिए।
यस खण्डमा तिहार बिदाको समयमा पनि सडक विस्तार कार्यलाई तीव्र पारिने छ। सडक फराकिलो बनाउने, भित्ता खार्ने, खाडल पुर्ने, पक्की पुल र कल्भर्ट निर्माण गर्नेलगायत काम भइरहेका छन्। यस खण्डमा ३६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 