भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

हिमाल प्रेस २५ कार्तिक २०८० ९:४१ | Saturday, November 11, 2023
भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

काठमाडौँ- भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ। खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो।

अत्यधिकरूपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन्। वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो।

चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उनले बताए। वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ।

उनका अनुसार तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ। बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिरामीको संख्या बढ्न थालेको बताए।

दल्ली नगर अस्पतालका डा विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए। उनले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एकसय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ।

भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी संकट बढेको नगरप्रमुख रावतले बताए। ‘स्थानीयहरु नदीको दुषित पानी खान बाध्य छन्’, उनले भने, ‘अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ।’

नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताए।

उनका अनुसार भूकम्प गएको एकरदुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो। नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताए।

प्रकाशित: २५ कार्तिक २०८० ९:४१ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast