काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमणले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको तर्फबाट महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको जनाइएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।
भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहिआएको स्मरण गर्दै रास्वपाले यस भ्रमणबाट दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ भई आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने रास्वपाको अपेक्षा छ ।



