तस्बिर एआई निर्मित
काठमाडौँ- धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गएराति करिब १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका-४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिका-४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन्।
चालक धादिङको खनियाबास गाउँपालिका-१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका-११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको छ।



