पोखरा- पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सातजनालाई कैद तथा जरिबाना फैसला सुनाइएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले गत १७ कात्तिकमा नेपालीसहित सातजनालाई कैद तथा जरिबानाको फैसला सुनाएको हो।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली सहकारी ठगी मुद्दामा हाल बागलुङ जिल्ला कारागारमै छन्।
सहकारी ठगी मुद्दामा १५ जना प्रतिवादी रहेकामा पक्राउ परेका ७ जनामध्ये नेपालीविरुद्ध आठ वर्ष कैदसहित एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिबाना तोकिएको छ भने सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवाना छ।
अन्य आठजना प्रतिवादी हाल फरार रहेकाले उनीहरुको हकमा फैसलाको पूर्णपाठ आएपछि मात्रै विस्तृत अवस्था खुल्ने अदालतका शाखा अधिकृत तारानाथ पोखरेलले जानकारी दिए। फैसलाको पूर्णपाठ २१ दिनभित्र आउने कानुनी व्यवस्था छ।
हरिकुमार खत्रीसमेतको जाहेरीले सहकारी संस्थापक अध्यक्ष नेपालीलगायत १५ जनाविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए। इमेज सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा भने बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।
२०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन्। उनीमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ।
२०८० भदौ १२ मा पाँच सय २४ जना बचतकर्ताले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो दाबी गर्दै जाहेरी दिएका हुन्। तीमध्ये पाँच किस्तामा चार सयजना बचतकर्तासँग मिलापत्र भएपछि बाँकी रहेका एक सय १० जनाले पूरक अभियोगका रूपमा जाहेरी दिएका थिए। सोही पूरक अभियोगपत्रका आधारमा अदालतले फैसला सुनाएको हो।
प्रतिवादीले बचतकर्ताको रकम फिर्ता गरेर मिलापत्र गर्न चाहे पुनरावेदनमार्फत मिलापत्रको सुविधा हुनेछ। बागलुङमा करिब एक अर्ब पाँच करोड ३० लाख रुपैयाँ बराबरको मिलापत्र भइसकेको छ भने करिब २५ करोड ३० लाख मिलापत्र हुन बाँकी छ।
बागलुङ र पोखरा दुवै ठाउँमा इमेज सहकारी सञ्चालन गरेका नेपालीले बचतकर्ताको रकम व्यक्तिगत स्वार्थमा खर्च गरी बागलुङ, पोखरा, काठमाडौं र चितवनलगायत ३३ ठाउँमा जग्गा खरिद गरेको खुलेको थियो।
हाल बैंकले बागलुङ र पोखरामा रहेको उनको सहकारीको भवनसहितको घरजग्गा लिलामी गरिसकेको छ। सहकारीको रकम हिनामिना पारेर परिवारसहित सम्पर्कविहीन नेपालीविरुद्ध २०८० माघमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएको थियो। उनलाई प्रहरीले २०८१ असोज ११ गते भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।
१५ असोजमा जिल्ला अदालत बागलुङले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने गत वर्ष १२ जेठमै कास्की जिल्ला अदालतले पनि थुनामै राख्ने आदेश दिएको थियो।




