काठमाडौँ- जनअधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले भारतले सहयोग गर्ने भनेको आईआईटी संस्थान मधेश प्रदेशमा स्थापना गर्न माग गरेका छन्।
मधेश प्रदेशको शिक्षाको स्तर खस्किँदै गएको भन्दै उनले शिक्षाको अवस्था माथि उकास्न आईआईटी संस्थान मधेशमा स्थापना गर्न माग गरेका हुन्।
प्रधानमन्त्री वालेन्द शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पनि आईआईटी संस्थानको शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए।
‘म प्रधानमन्त्री वालेन्द्र शाह जो आफैँ पनि मधेशी मुलको हुनुहुन्छ, मधेशको शिक्षालाई फेरि एकचोटी पुर्नजागरण गराउन आईआईटी संस्था मधेश प्रदेशमा स्थापना गर्न आग्रह गर्दछु,’ भिडियो सन्देशमार्फत यादवले भनेका छन्,‘यसले मधेशमा शिक्षाको उज्यालो फैलिन्छ, औद्योगिकीकरणलाई यसले सक्षम बनाउँछ, मधेशका कृषक र कृषि पेशामा लागेकालाई यसले ठूलो टेवा पुर्याउँछ।’
उनले मधेश प्रदेशको राजधानी जनकपुरधाम, राजविराज वा वीरगञ्जमध्ये कुनै एक ठाउँमा आईआईटी संस्था स्थापना गर्न प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री शाहले आईआईटी संस्थान मधेश प्रदेशमा स्थापना गर्ने आफूलाई पूर्ण विश्वास रहेको बताउँदै यादवले यसले समग्रतामा देशलाई टेवा पुर्याउने उल्लेख गरेका छन्।
उनले भारतसँगको औद्योगिक सम्बन्ध र आईटी तथा सूचनाको सम्बन्ध आदानप्रदानमा समेत यसले ठूलो महत्व राख्ने जिकिर गरेका छन्।
अध्यक्ष यादवले भारतको जस्तै नेपालमा पनि आईआईटी संस्थान स्थापना गर्ने प्रधानमन्त्री मोदीको वाचा सम्पूर्ण नेपालीका लागि खुसीको कुरा रहेको बताएका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतबाट प्राप्त भएका सहयोगहरू नेपालको विकासका लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ।



