छठ पर्व। फाइल तस्बिर।
काठमाडौँ- जन अधिकार पार्टीले छठ पर्वका अवसरमा देशभर तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ। पार्टीले छठ पर्वलाई नेपालको राष्ट्रिय पर्वका रूपमा औपचारिक घोषणा गरी राष्ट्रिय पर्वको मान्यता प्रदान गर्नसमेत माग गरेको हो।
पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरदसिंह यादवद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत सरकारसमक्ष चारबुँदे माग प्रस्तुत गरिएको छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै छठ पर्व नेपालको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व भएको बताइएको छ।
पछिल्लो समय तराई-मधेस क्षेत्रमा मात्र सीमित नरही काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा समेत श्रद्धा, आस्था र उत्साहका साथ छठ पर्व मनाउने क्रम बढ्दै गएको पार्टीको भनाइ छ।
सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, स्वच्छता, अनुशासन, सामाजिक सद्भाव, पारिवारिक एकता तथा समानताको सन्देश प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ।
छठ पर्वमा लाखौँ श्रद्धालु भक्तजनले चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार सहभागी हुने गरेका छन्।




