काठमाडौँ- धनगढीमा चट्याङ लागेर सात जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका हुन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मंगलबार राति करिब ९ः३० बजेको समयमा स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाकी ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
घाइते सातै जनालाई राति करिब ११ः०५ बजे धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। अहिले उनीहरूको उपचार भइरहेको छ।



