काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयमा लामो समय सम्म नेपाली प्राध्यापन गरेर सेवा निवृत्त भएका प्राध्यापकहरूको सम्मान बिहीबार नेपाली विभाग, वाल्मीकि विद्यापीठले गरेको छ। साथै सम्मानित प्राध्यापक तथा कवि रामहरि कोइरालाद्वारा लिखित ‘समयको स्वर’ शीर्षक कविता-सङ्ग्रहको लोकार्पण भएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य, अनुसन्धान केन्द्र, नेसंविका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल र विशिष्ट कविप्रतिभा प्रह्लाद पोखरेलको विशिष्टातिथ्य, भक्तपुर क्याम्पसका पूर्वप्राचार्य कृष्णप्रसाद पोखरेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.अच्युतप्रसाद लामिछाने, नेसंवि प्राध्यापक संघका पूर्वसभापति प्रा.डा. शान्तिकृष्ण अधिकारी, प्रा. शम्भुराज गौतम, महासचिव डा. नारायण बराल, वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य, विभिन्न विभागका विभागाध्यक्षहरूलगायतको आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता नेपाली विभागका विभागाध्यक्ष प्रा.डा. नारायण चालिसेद्वारा ग्रहण गरिएको थियो।
कविको उमेरवयको प्रतिनिधित्व गर्ने ६३ वटा कविताहरूको संकलन ‘समयको स्वर’ कृतिको समीक्षा सोही विद्यापीठका प्रा.डा. देवी नेपाल र पूर्वप्राचार्य प्रा.डा. भागवत ढकालद्वारा गरिएको थियो। शिष्ट, भद्र, नम्र, कर्तव्यनिष्ठ, सरल व्यक्तित्व बनाएका कवि रामहरि कोइराला कवितामा चेतनशील, विद्रोही, आक्रामक व्यक्तित्वका रूपमा चिनिएका छन् भन्दै कवितासङ्ग्रहका कवितामा संवेगात्मकता, व्यङ्ग्यात्मकता, तत्क्षणता जस्ता प्रवृत्ति देखापर्ने भन्दै सूचनामूलक, भावनामूलक, चेतनामूलक, भक्तिपरक, दार्शनिक, विश्लेषणात्मक, व्यङ्ग्यचेतनामूलक र सन्देशमूलक कविताहरूको सङ्ग्रहका रूपमा समालोचक नेपालले कृतिको मूल्यांकन गरेका थिए।

अर्का कृति समीक्षक प्रा.डा. भागवत ढकालले लयात्मक सौन्दर्य र अर्थसौन्दर्यले परिपूर्ण भावगम्भीर तथा कलात्मक कवितासङ्ग्रहका रूपमा कोइरालाको कवितासङ्ग्रहको मूल्यांकन गरेका थिए। समीक्षक ढकालका अनुसार समसामयिक सामाजिक, राजनीतिक तथा वैश्विक बेथिति विसंगतिको चित्रण गरिएका कोइरालाका सबैजसो कविता अन्तमा सुधारको सन्देश प्रदान गर्दै टुंगिएका देखिन्छन्। त्यसैले आदर्शोन्मुख यथार्थताको चित्रणमा कविता अत्यन्त सशक्त छन्।
समारोहमा सेवा निवृत्त सह प्रा. कृष्णप्रसाद ज्ञवाली, प्राध्यापक डा. नवराज कट्टेल (हाल कुलसचिव, नेपाल संस्कृत विश्वविद्यालय) र सहप्रा. रामहरि कोइरालाको दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो। पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको हातबाट उक्त सम्मानपत्र तथा दोसल्ला सम्मानित प्राध्यापकलाई प्रदान गरिएको थियो।
उक्त समारोहमा कवि तथा गजलकार रूपक अलंकार, डा. रत्नावली शर्मा, साहित्यकार तुलसीहरि कोइराला, विशिष्ट कविप्रतिभा प्रह्लाद पोखरेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछाने, भक्तपुर बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्णप्रसाद पोखरेल, नेपाल प्राध्यापक संघ, ने.सं.वि. केन्द्रका पूर्वसभापति प्रा.डा. शान्तिकृष्ण अधिकारी, ने.सं.वि. अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेललगायतले सम्मानित व्यक्तित्वप्रति शुभकामना मन्तव्य राखेका थिए।
समारोहको विशिष्ट आतिथिसमेत रहेका प्रा.डा. सुधनकुमार पौडेलले कवि कोइरालामा नेपाली साहित्यका प्राध्यापक भएकाले भावयत्री प्रतिभा अत्यन्त सबल रहेको र आजको लोकार्पित ‘समयको स्वर’ कवितासङ्ग्रहले कारयत्री प्रतिभा समेत रहेको प्रमाणित गरेको छ भन्दै कारयत्री र भावयत्री प्रतिभाको सदुपयोग गर्दै समयलाई भगवान् मानी अघि बढ्न तथा नित्य निरन्तर साधनामय सुदीर्घ जीवन यापन गर्नका लागि शुभकामना प्रदान गरेका थिए।
समारोहमा प्रमुख अतिथि तथा संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले समयको चाप र समयको ध्वनिलाई मूल्यांकन गरेर आत्मसाथ गर्न नसकेमा जीवन अल्मलिन पुग्ने बताए। उनले भने, ‘प्राध्यापक विद्याका साधक हुन्। समग्र मानवजाति तथा मानवीय सभ्यताका लागि पौरस्त्य संस्कृत वाङ्मय अपरिहार्य भएकाले संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूले संस्कृत वाङमयलाई मन्थन गर्दै ज्ञानरूपी घिउ निकालेर मानव समाजलाई उपकार गर्न पर्ने विचारसहित सम्मानित प्राध्यापकलाई सफल जीवनको शुभकामना दिए।
नेपाली विभागका विभागाध्यक्ष तथा सभापति प्रा.डा. नारायणप्रसाद चालिसेले जीवन व्यवस्थापनका लागि मार्ग पहिल्याएर अघि बढ्न सफलता मिलोस् भन्ने शुभकामना दिए। नेपाली विभागका सदस्य तथा विद्यापीठका पूर्व प्राचार्य डा. गणेशप्रसाद घिमिरेद्वारा सञ्चालन (सहजीकरण) गरिएको उक्त समारोहमा आयोजकका तर्फबाट नेपाली विभागकी सदस्य उपप्रा. चारुभा घिमिरेले स्वागत र उपप्रा. तेजविलास अधिकारीले धन्यवाद व्यक्त गरेका थिए।



