काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । यस महाधिवेशनमा कूल सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् ।
पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए। दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ।
कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पु¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन्। यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सहप्रवक्ताको सङ्ख्या थप हुने पार्टीले जनाएको छ ।



