काठमाडौँ- प्रहरीले सिरहाका युट्युबर मनोज मानव भन्ने मनोजकुमार महतोलाई पक्राउ गरेको छ।
व्यक्तिको चरित्रहत्या एवं सामाजिक शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले महतोलाई पक्राउ गरेको हो।
सिरहाको लहान नगरपालिका–२४ घर भएका महतोलाई उदयपुरस्थित चतरा पुल पारी एक होटलमा लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
महतोमाथि विगत लामो समयदेखि जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायतका व्यक्ति तथा विभिन्न सम्पद्रायका विरुद्ध अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्र हत्या गर्दै आएको आरोप छ।
प्रहरीका अनुसार उनले अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्र हत्या गर्ने मनसायले विनाप्रमाण, आधारहीन, तथ्यहीन, धम्कीपूर्ण र भ्रामक सामग्रीहरु सामाजिक सञ्जालबाट पोस्ट गर्दै आएका थिए।
डीएसपी पालले महतोलाई साइबर अपराध र सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा पक्राउ गरिएको जानकारी दिए।
महतोले आफूसँग अटोमेटिक हतियार रहेको र आफू पूर्वजनतान्त्रिकको लडाकुसमेत भएको भनि धम्की दिई हतियारको फोटो पठाइ केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको प्रहरीको भनाइ छ।


