भोटेकोशी बाढीले परिवारमा बज्रपात

नन्दकिशोर राना भन्छन् : सरकार बिन्ति छ, छोरा खोजी देऊ

हिमाल प्रेस २३ भदौ २०८३ ७:०७ | Tuesday, September 8, 2026
नन्दकिशोर राना भन्छन् : सरकार बिन्ति छ, छोरा खोजी देऊ

महेन्द्रनगर- कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरहेका छन् ।

भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहेका छन् उनले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उनको दुखेसो छ । ‘छोराको सास कि लाश भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु’, उनले भने, ‘घरपरिवारमा सन्नाटाकाबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइन ।’

माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेशनको अवस्था बाढीपछि अज्ञात छ । ‘घरमा नाबालिक नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन’, रानाले भने, ‘छोराकै कमाइले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।’

उनका छोरा विगत एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताए । ‘आउने जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो’, उनले भने, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।’

गाउँमा आफूसित भएको चारकट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोखे । ‘घरकै आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाए’, उनले भने, ‘बाह्र दिनदेखि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दै छ ।’ कृष्णपुर नगरपालिका–३ का क्रिकेशन रानासँगै कालु राना र रिकेश राना सम्पर्कविहीन भएको कालु रानाका भतिजा सोहन रानाले बताए ।

‘कसैको फोन आयो कि सम्पर्कविहीन भेटियो कि जस्तो लाग्छ’, रानाले भने, ‘तीन जना आफन्त हराउँदा परिवारमा आँशुबाहेक केही छैन । हराएका तीन जनाकै छोरा छोरी नाबालिक छन् । तीन जना नै केही समयअघि धानखेती गरेर काम गर्न गएका थिए’, उनले भने, ‘परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बा नै ढलेजस्तो सन्नाटा छ ।’

हराइरहेका कालु रानाका श्रीमती रेखाले छोराछोरी बुवा आउने आशामा बसेको बताइन्। ‘छोराछोरी बुवालाई फोन गर, कुरा गर्छौँ भन्छन्’, रेखाले भक्कानिँदै भनिन्, ‘यतिकादिन भयो फोन आउँदैन । पहिले दिनमा तीन पटकसम्म फोन गर्थे ।’

उनले श्रीमान् सम्पर्कविहीन हुँदा आफूहरू बिचल्ली हुने अवस्थामा पुगेको बताए । “अब छोराछोरी कसले पढाइदिने”, उनले भने, ‘सरकारसँग बिन्ती छ । हाम्रा मान्छेको खोजी गरिदिनु ।’

त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३ जोनापुर विनोद डगौरा सोमबार निराश हुँदै काठमाडौँबाट घर फर्किँदै छन् । पच्चीस वर्षीय छोरा दीपेन्द्र डगौरा लाङ्टाङ जलविद्युत् आयोजनामा कार्यरत रहेकै बेला यही भदौ १० गतेको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका छन् ।

‘न सास भेटिने भयो न त लास नै । निकै पीडा भयो ।’ बुवा विनोद डगौराले भने, ‘एक्लो छोरो थियो । बुढेसकालको सहारा होला भनेको युवा अवस्थामै विलय भयो ।’ मजदुरीका लागि छोरा दीपेन्द्र रसुवा पुगेको उनले बताए ।

‘अवस्थाले पढाउन सकेको भए आज रसुवामा हराउनुपर्ने थिएन’, उनले भने, ‘गरिबीले मजदुरीमा पुर्‍यायो । बाढीले परिवार नै बिचल्लीमा पार्‍यो भोटेकोशी बाढीमा परेर कञ्चनपुरका २६ जना अझै हराइरहेका छन् ।’

प्रकाशित: २३ भदौ २०८३ ७:०७ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast