काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री वालेन्द्र साहलाई सुझाव दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने तयारी गरेका छन्।
सभापति थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा जोड दिएका हुन्।
विशेषगरी रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताए।
विदेश भ्रमणको तयारीका लागि प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र देशभित्र तथा बाहिर रहेका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न उनले आग्रह गरे।
सभापति थापाले भने,‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ। नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ। यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन्। पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप-२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ।’
यसैबीच, सभापति थापाले बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अहिले तोकिएको समयमा वडा अधिवेशन गर्ने अवस्था नरहेको जानकारी दिए।
कांग्रेसले भदौ २४ गते वडा अधिवेशन गर्ने गरी कार्यतालिका जारी गरे पनि ती क्षेत्रमा सम्भव नभएको र तल्ला तहको कार्यतालिका परिमार्जन हुन सक्ने उनले संकेत गरे। थापाले भने, ‘हामीलाई वैधानिक बाध्यता छ, असोज १६ गते कांग्रेसको केन्द्रीय महाधिवेशन काठमाडौँमा सुरु हुन्छ, यो तिथिमिति तलमाथि गर्न सक्ने सुविधा छैन। विपद्को यो अवस्थामा रसुवा, नुवाकोट र धादिङमा केही असजिला छन्। तीन जिल्लामा नियमित वडा अधिवेशन गर्ने अवस्था मैले देखिनँ। म तल जाँदै गर्दा पनि त्यो सम्भावना देखिनँ।’
रामेछाप र गोरखा लगायत जिल्लाका मानिसहरू पनि आफन्त खोज्न भोटेकोशी क्षेत्रमा गएकाले परिस्थिति जटिल बनेको बताउँदै थापाले वडा अधिवेशनको नयाँ मिति कार्यसम्पादन समिति बैठकमा छलफल गरेर चाँडै तय गरिने बताए।
यो पनि
राष्ट्रसंघ महासभामा उभिएर जलवायु संकट र असरको कुरा उठाउँछु : प्रधानमन्त्री


