कांग्रेस महाधिवेशन : १३ जिल्लामा संघीय र प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै

हिमाल प्रेस ११ असोज २०८३ १४:५१ | Sunday, September 27, 2026
कांग्रेस महाधिवेशन : १३ जिल्लामा संघीय र प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आइतबार १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हँुदै छ।

अत्यधिक वर्षाका कारण असोज १० गतेका लागि तय गरिएको अधिवेशन जिल्लाको अनुकूलता अनुसार असोज १३ गतेभित्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले विकल्प दिएपछि विभिन्न जिल्लामा फरक–फरक मितिमा अधिवेशन हुन लागेको हो।

अरु २९ जिल्लामा सोमबार र ९ जिल्लामा मंगलबार क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। आइतबार झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतसहित १३ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको हो।

त्यसैगरी सोमबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीसहित २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिलाई प्राप्त विवरणअनुसार मंगलबार १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेख गरी ६ जिल्लामा र १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तय भएको छ।

अन्य १७ जिल्लाले भने पूर्वनिर्धारित तालिकाअनुसार १० गते नै अधिवेशन सम्पन्न गरेको समितिले जनाएको छ। अन्य केही जिल्लाहरुमा भने मिति तय नभए पनि १३ गतेभित्र गरिसक्न भनिएकाले त्यतिबेलासम्म भइसक्ने निर्वाचन समितिले दाबी गरेको छ।

प्रकाशित: ११ असोज २०८३ १४:५१ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast