काठमाडौँ- रसुवा, नुवाकोट र धादिङका विपद्ग्रस्त क्षेत्रमा यातायात र पहुँच पुन:स्थापित गर्न नेपाली सेनाले भौतिक पूर्वाधार पुनर्निर्माण तथा आपत्कालीन सञ्चालनलाई मुख्य प्राथमिकतामा राखेर खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ।
पूर्वाधार सञ्चालनकै क्रममा नुवाकोटको विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीमा ६० मिटर लामो, ५.५ मिटर फराकिलो र ५० टन भारवहन क्षमताको एक्रो ब्रिज निर्माण कार्य द्रुत गतिमा अघि बढाइएको छ।
उक्त पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोली खटिएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका क्षेत्रहरूमा ९ हजार ३ सयभन्दा बढी सैनिक फौज परिचालन गरी अवरुद्ध सडक तथा पुलहरू खुलाउने काम भइरहेको छ।
सडक सञ्जाल अवरुद्ध रहेकै अवस्थामा आपत्कालीन सेवा निरन्तर राख्न हवाई साधनमार्फत २० थान अक्सिजन सिलिन्डर त्रिशूली पुर्याइएको छ भने भदाै २१ गते दिउँसो १ बजेसम्म थप ५ जनासहित हालसम्म ३,९६७ जना (३,६९२ स्वदेशी र २७५ विदेशी) को हवाई उद्धार गरिएको छ।
जमिनी रूपमा मैलुङ-स्याफ्रूबेसी इलाकामा पैदल गस्ती र त्रिशूली तथा धुन्चेका आपत्कालीन केन्द्रबाट ३,२९८ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
यसैगरी, क्षतिग्रस्त जलविद्युत् आयोजनाका टनेल र भौतिक संरचनामा पनि पुनर्निर्माण तथा खोजी कार्य जारी छ। चिलिमे हाइड्रोमा मिनी एक्स्क्याभेटर र मड पम्पको सहयोगमा लेदो फाल्दै पावरहाउसको ५०-६० मिटर नजिक पुगिएको छ भने स्याफ्रूबेसीमा एक्स्क्याभेटर डम्प गरी टनेल इलाकामा लैजाने काम भइरहेको छ।
त्रिशूली-३बी मा एक्स्क्याभेटर जान सक्ने गरी बाटो सफा गरिँदै छ। रसुवागढी, त्रिशूली-३ए र माथिल्लो त्रिशूली-१ (जहाँ थर्मल क्यामेरा प्रयोग गरिँदै छ) मा पनि सेनाको विशेष टोली उद्धार र संरचना सफाइमा निरन्तर खटिएको छ।


