काठमाडौँ- एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२ ओभर ३ बलमा १०३ रनमै समेटिएको थियो। मलेसियाका कप्तान सैयद अजिजले ३० तथा अकिल वाहिदले २४ रन बनाए।
मलेसियालाई सस्तैमा रोक्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ७ ओभर ३ बलमा दुई मेडनसहित २३ रन खर्चेर चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।
१०४ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा चार विकेट गुमाउँदै १०६ रन बनाएर जित सुनिश्चित गर्यो। नेपालका लागि ओपनर अर्जुन कुमालले ६८ बलमा चार चौकासहित अविजित ४५ रन बनाए। इशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ र रोहितकुमार पौडेलले १० रन जोडे। ओपनर आसिफ शेख भने पहिलो बलमै आउट भएका थिए।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो। लगातार दुई जितसँगै चार अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा नै छ।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।


