रेड पान्डा संरक्षण र पर्यटन प्रवर्द्धन सँगसँगै अघि बढाउँदै छौँ : आङफुरी शेर्पा [अन्तरवार्ता]

महेश्वर आचार्य १ भदौ २०८३ १६:५१ | Monday, August 17, 2026
16
SHARES
रेड पान्डा संरक्षण र पर्यटन प्रवर्द्धन सँगसँगै अघि बढाउँदै छौँ : आङफुरी शेर्पा [अन्तरवार्ता]

रेड पान्डा अर्थात् हाब्रे संरक्षण, स्थानीय समुदायको सहभागिता र साहसिक पर्यटन प्रवर्द्धनलाई जोडेर सोलुखुम्बुको सल्लेरीमा तेस्रो संस्करणको रेड पान्डा म्याराथन आयोजना हुँदै छ। रेड पान्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आगामी भदौ २० गते म्याराथन आयोजना गर्न लागिएको हो। यस वर्षको मुख्य आकर्षण सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भएर चार हजार ५४ मिटर उचाइमा रहेको पिके पिक पुगेर पुनः सोही स्थानमा फर्किने ४८ किलोमिटर लामो ट्रेल दौड हो। अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघमा दर्ता भएको यो दौडमा करिब दुई हजार आठ सय ७२ मिटर उचाइ बढोत्तरी हुने भएकाले अनुभवी धावकका लागि चुनौतीपूर्ण मानिएको छ।

यसपटक पहिलोपटक स्थानीय समुदाय तथा सर्वसाधारणलाई लक्षित गर्दै पाँच किलोमिटरको ‘रेड पान्डा रन’ पनि आयोजना हुँदैछ। मुख्य म्याराथन अनुभवी धावकका लागि लक्षित भए पनि पाँच किलोमिटरको दौड भने सबै उमेर र क्षमताका व्यक्तिका लागि खुला रहनेछ। आयोजकले यसमार्फत स्थानीय समुदायलाई संरक्षण अभियानसँग प्रत्यक्ष जोड्ने लक्ष्य लिएको छ।

रेड पान्डा म्याराथनको उद्देश्य केवल दौड आयोजना गर्नुमा सीमित छैन। खेलकुदलाई संरक्षणसँग जोड्दै रेड पान्डा र यसको बासस्थानको संरक्षणबारे जनचेतना फैलाउने तथा सोलुखुम्बुलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास पनि हो। रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पासँग म्याराथनको उद्देश्य, रेड पान्डा संरक्षण, स्थानीय समुदायको सहभागिता, साहसिक पर्यटन र संरक्षण तथा पर्यटनबीचको सम्बन्धलगायत विषयमा गरिएको कुराकानी :

रेड पान्डा संरक्षणलाई म्याराथनजस्तो साहसिक खेलसँग जोड्ने सोच कसरी आयो र सुरुवाती सोच र बहस कस्तो थियो ?

हामी संरक्षणको क्षेत्रमा कार्यरत थियौँ, अझ त्यसमा पनि रेड पान्डाको संरक्षणमा केन्द्रित थियौँ। संरक्षणकै सन्देश कसरी व्यापक बनाउन सकिन्छ भन्नेतर्फ कुरा हुँदा म्याराथन गर्ने कुरा आयो। तर म्याराथन त अर्को विशेष ज्ञानको कुरा भयो। त्यसपछि हामीले खेलजगत्‌मा काम गर्ने साथीहरूसँग सम्पर्क गर्‍यौँ। धावक मीरा राईसँग धेरै सहयोग लियौँ। पहिलो संस्करण ताप्लेजुङमा गर्दा त्यहाँको खेल क्षेत्रका साथीहरूले सहयोग गर्नुभयो। सुरुमा अलिकति गाह्रो भयो तर पनि सबैको साथ सहयोगले त्यसलाई सम्पन्न गर्‍यौँ। त्यो त्यस्तो खालको पहिलो स्पर्धा भएकाले मान्छेहरूलाई रुचि पनि भएको पाइयो। फेरि यसरी विगतमा संरक्षण र खेल जोडेर कार्यक्रमहरू नभएको हुँदा त्यसले पनि मान्छेलाई अर्कै ढंगले आकर्षित गर्दै ल्याएको छ।

अहिले त संरक्षण र खेललाई जोड्नका लागि अन्तर्राष्ट्रिय संरक्षण निकाय आईयूसीएनले पनि स्पोट्र्स फर नेचर भन्ने नारामा काम गर्न प्रेरित गरेको छ।

जुन उद्देश्यका लागि दौड आयोजना गरिएको थियो, त्यो उद्देश्य पूरा भएको अनुभवले हामीलाई उत्साहित बनायो। किनभने खेलमार्फत रेड पान्डा संरक्षणको सन्देश अझ प्रभावकारी र अझ प्रसार भएको अनुभव भयो र यसलाई निरन्तरता दिनुपर्छ भनेर लाग्यौँ।

रेड पान्डा म्याराथनलाई निरन्तरता दिनुपर्ने रहेछ भन्न के के कुराले उत्प्रेरित गर्‍यो?

खेलजगत्‌सँग सहकार्य गर्दा हाम्रो सन्देश अझ प्रभावकारी भएको अनुभव भयो। जब खेलसँग सम्बन्धित सन्देश तथा समाचार आमसञ्चारको माध्यममार्फत आमजनमा पुग्दा रेड पान्डाको वासस्थान जोगाउनुपर्ने कुरा र संरक्षणका कुरा पनि आमजनसमक्ष पुग्यो। त्यसले समुदाय स्तरमा जनचेतना जगाउन ठूलो सहयोग भयो।

नेपालका २५ जिल्लामा रेड पान्डा पाइन्छन् हामी चाहन्छौँ सबै जिल्लामा यस्तो स्पर्धा क्रमैसँग गर्दै जाऊँ त्यो गर्दा सबै ठाउँका मान्छेले रेड पान्डाबारे बुझ्ने पनि मौका पाउँछन्। सेप्टेम्बरमा ‘इन्टरनेसनल रेड पान्डा डे’ मनाउन पनि यही समयमा हामीले इभेन्ट गर्दै आएका हौँ।

यस पटकको दौडको मार्ग पिकेपिक पनि रहेको हुँदा भौगोलिक कठिनतासँगै समग्र स्पर्धा कत्तिको चुनौतीपूर्ण देखिन्छ?

विगतमा सोलुखुम्बु र ताप्लेजुङमा स्पर्धा आयोजना गर्दा हामीले स्थानीय विषय विज्ञ तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परामर्शदाताको सल्लाहसुझावअनुसार गरेका थियौँ भने यसपटक पनि हामीले विगतको अनुभवको तुलनात्मक अध्ययन गरेर सबै सरोकारवालाहरूको सल्लाहमुताबिक स्पर्धाका बाटोहरू छनोट गरेका हौँ। त्यो मार्गमा स्थानीय साझेदार संस्थाहरुको बेलाबेला दौड आयोजना गरिरहनुभएको हुँदा पनि हामीलाई सहज भएको अवस्था छ।

‘रेड पान्डा रन’ भन्ने स्पर्धा पनि थपिएको रहेछ। यसको उद्देश्य के हो?

स्थानीय समुदायलाई संलग्न गराउन हामीले यो नयाँ स्पर्धा थपेका हौँ। समुदायका मान्छेलाई संरक्षणमा संलग्न गराउनुभन्दा खेलका माध्यमबाट गराउन सजिलो हुने रहेछ भन्ने हाम्रो अनुभवले पनि यो स्पार्धा थप्न प्रेरित गरेको हो।

रेड पान्डा म्याराथनका लागि आवश्यक स्रोतको व्यवस्थापन कसरी गरिहरनुभएको छ?

एक पटक खेल आयोजना गर्दा २०-२५ लाख रुपैयाँ खर्च हुन्छ। सबभन्दा बढी खेलाडीलाई दिइने पुरस्कारमै खर्च हुने गरेको छ। किनभने पहिलो हुने महिला र पुरुष दुईजनालाई एक लाख ५० हजारका दरले तीन लाख खर्च हुन्छ भने दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार तथा सान्त्वनालगायतले गर्दा खर्चको ठूलो अंश पुरस्कारमै खर्च हुने गरेको छ। स्रोतको उपलब्धताको चुनौतीका बीच पनि हामीले अन्य हिसाबले स्पर्धाको समग्र आयेजना उन्नत बनाउन पनि आवश्यक व्यवस्थापन गर्दैै आएका छौँ। हामीलाई ‘प्ले फर नेचर’ ले केही सहयोग गर्ने गरेको छ। अन्य स्रोत हाामीले नै विविध माध्यमबाट जुटाउँदै आएका छौँ।

यो स्पर्धालाई अझ व्यापक बनाउने केही योजना छन् कि?

हामीले अन्तर्राष्ट्रिय स्तरको एउटा कार्यक्रम रेड पान्डाको बासस्थानमा गरौँ भन्ने चाहेका हौँ। तर यो म्याराथनको हकमा के रहेछ भने धेरै मापदण्डको पालना गर्नुपर्ने रहेछ। यो स्पर्धालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अन्तर्राष्ट्रिय निकायको मापदण्डमा रहनुपर्ने र त्यो प्रक्रिया लामो र कम्पेक्स खालको रहेछ, जुन हामी संरक्षणमा संलग्न संस्था आफैँले गर्न गाह्रो रहेछ। यद्यपि हामीले आफ्नो ठाउँबाट प्रयास गरिरहेका छौँ।

हामी अहिले ७६ वटा सामुदायिक वनसँग सहकार्य गरिरहेका छौँ। ७६ वटा सामुदायिक वनमा दुईदुईजना ‘वन अभिभावक’ हरूले नागरिक वैज्ञानिकको हैसियतमा काम गरिरहनुभएको छ। र अहिले कहीँ कतै बाटो बिराएर गाउँतिर आउने रेड पान्डालाई सामुदायिक वनमा लगेर छोड्ने अभ्यास हुन थालेको छ। कुकुरले टोकेर वा कुनै भवितव्यले मरेको भेटिएमा पनि वन कार्यालयलाई खबर गर्ने, समुदाय मिलेर मुचुल्का उठाउने काम पनि हुन थालेको छ। विगतको अभ्यासको विपरीत अहिले जनचेतना वृद्धि हुँदा हाब्रेलाई उद्धार गरेर जंगलतिर छोडिदिने, कतै बेवारिसे भेटिएमा कुकुरबाट बचाउने जस्ता राम्रो अभ्यास हुन थालेका छन्।

नयाँ पुस्तालाई संरक्षणमा कसरी संलग्न गराइरहनुभएको छ?

हामीले नयाँ पुस्तालाई संलग्न गराउँदा राम्रो परिणाम आउने विश्वव्यापी अनुभवलाई आत्मसात् गर्दै विद्यालय तहका विद्यार्थी संरक्षण शिक्षामा प्रत्यक्ष रूपमा संलग्न गराउने गरेका छौँ। त्यो कसरी गरेका छौँ भने साना कक्षाका विद्यार्थीलाई पर्यावरणीय भ्रमणमा लाने गरेका छौँ, जहाँ उसले जंगलमै गएर वन्यजन्तु र प्राणीको वासस्थान र समग्र पर्यावरणको महत्त्व आत्मसात् गर्ने अवसर पाउँछन्। किनभने हामीले उनीहरूलाई रेड पान्डाका बारेमा मात्र नभनी रूखबिरुवा चिनाउँछौँ, सीमसारका बारेमा बताउँछौं। आफ्नो घरवरिपरिको वातावरण र त्यहाँको प्राकृत वातावरणको बारेमा तुलना गर्न लगाउँछौँ। त्यो क्रममा उसले प्राृकतविज्ञान र जनजीवनको बारेमा सिकिरहेको हुन्छ। यस्तो अभ्यासले राम्रो परिणाम देखिन थालेको छ।

यस सन्दर्भमा हाम्रो हाब्रे केन्द्रले पनि राम्रो अभ्यासलाई निरन्तरता दिइरहेको छ। विद्यार्थीका लागि त्यहाँ पाँचसात दिन बसेर प्रकृति र पर्यावरणसम्बन्धी पाठ सिक्ने, नेतृत्वदायी भूमिकाबारे अभिमुखीकरण गर्ने कुराहरू भइरहेका छन्।

हामीले मुख्यतः रेड पान्डाको बासस्थानमा सुधार ल्याउँदा पान्डाको संख्या बढ्दै जाने रहेछ भन्ने पुष्टि भएको छ। विगतमा रेड पान्डाको संख्या नेपालमा कम थियो, अनुमानित पाँच सयदेखि एक हजारसम्म तर अहिले भने संख्या बढेको अनुमान छ। विगतको तुलनामा रेड पान्डा देखिने क्रम बढेको छ। पहिला पान्डा देख्न हप्ता १० दिन लाग्थ्यो भने अहिले पहिलो दिन, दोस्रो दिनमै रेड पान्डा देखिन्छन्।

रेड पान्डा जोगाउन पिके पिकमा दौड

प्रकाशित: १ भदौ २०८३ १६:५१ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast