भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, तस्बिर : एपी
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट भारतको आगामी विकास यात्राको नयाँ खाका प्रस्तुत गरेका छन्। ‘विकसित भारत’ र ‘आत्मनिर्भर भारत’को लक्ष्यलाई केन्द्रमा राख्दै मोदीले ‘शक्तिको सप्तधारा’ नाममा सातवटा प्राथमिकता सार्वजनिक गरेका छन्। उनले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा यस्तो प्राथमिकता घोषणा गरेका हुन्।
शनिबार लालकिल्लाको प्राचीरबाट लगातार १३औँ पटक राष्ट्रिय झन्डा फहराउँदै मोदीले करिब सवा घण्टा लामो सम्बोधनमा विगतका उपलब्धिको चर्चा मात्र गरेनन्, आगामी पाँचदेखि सात वर्षमा भारतलाई नयाँ गति र उचाइमा पुर्याउने आफ्नो सरकारको प्राथमिकतासमेत सार्वजनिक गरे।
मोदीले भारतको सामर्थ्यलाई विगतमा ‘सप्त सिन्धु’सँग जोडेर बुझिने गरेको प्रसंग स्मरण गर्दै आधुनिक भारत निर्माणका लागि नयाँ ‘धारा’ आवश्यक रहेको बताए। ‘विकसित भारत’ निर्माणका लागि घोषणा गरिएको ‘शक्तिको सप्तधारा’ मा उत्पादन, कृषि तथा खाद्यान्न, प्रविधि तथा नवप्रवर्तन, गतिशक्ति, रक्षा, हरित तथा निलो अर्थतन्त्र र भारतको सफ्ट पावरलाई समेटिएको छ।
उत्पादनसँगै विश्वव्यापी आपूर्ति
मोदीले उत्पादन क्षमतालाई पहिलो शक्तिका रूपमा प्रस्तुत गरेका छन्। डिजाइनदेखि उत्पादनसम्म भारतलाई विश्वव्यापी आपूर्ति शृंखलाको भरपर्दो केन्द्र बनाउने आफ्नो लक्ष्य उनले प्रस्तुत गरे। भारतले ठूलो बजारका रूपमा नभई विश्वका लागि उत्पादन गर्ने मुलुकका रूपमा क्षमता विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
मूल्य, गुणस्तर र उत्पादन क्षमतामा भारतले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो। यसै सन्दर्भमा सेमिकन्डक्टर, रक्षा सामग्री तथा ऊर्जा उत्पादनलाई पनि उनले विशेष प्राथमिकतामा राखे। परमाणु ऊर्जाको विस्तार र ऊर्जा सुरक्षालाई भारतको दीर्घकालीन विकाससँग जोड्दै आत्मनिर्भरतामा जोड दिए।
कृषिमा आत्मनिर्भरता
मोदीले कृषि तथा खाद्यान्न उत्पादनलाई दोस्रो शक्तिका रूपमा अघि सारे। विश्वमा मलको संकट देखिँदा पनि भारतीय किसानलाई सस्तोमा मल उपलब्ध गराउन सरकार सफल भएको दाबी गर्दै उनले कृषि उत्पादन र उत्पादकत्व अझ बढाउनुपर्ने बताए।
भारतले विभिन्न मुलुकसँग गरेका स्वतन्त्र व्यापार सम्झौताले नयाँ बजारको अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले त्यसको लाभ उठाउन भारतीय कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।
एआई र डेटा सेन्टर
प्रविधि तथा नवप्रवर्तनलाई तेस्रो शक्तिका रूपमा राख्दै मोदीले कृत्रिम बुद्धिमत्ता (एआई), अन्तरिक्ष र डेटा सेन्टरजस्ता क्षेत्रमा भारतले विश्वस्तरीय नेतृत्व लिनुपर्ने बताए।भारतको डिजिटल क्षमता, अनुसन्धान र नवप्रवर्तनलाई आर्थिक शक्तिमा रूपान्तरण गर्ने लक्ष्य उनको सम्बोधनमा देखिएको थियो।
प्रविधिमा अरूमाथिको निर्भरता घटाउँदै आफ्नै क्षमता निर्माण गर्ने नीति यसअघि पनि मोदी सरकारको आत्मनिर्भर भारत अभियानको प्रमुख आधार रहँदै आएको छ। भारत पछिल्लो समय प्रविधिमा निकै अघि बढेको देशका रूपमा परिचित छ। यो पहिचानमा एआई र डेटा सेन्टरमा भारत सफल रहेको सन्देश दिन आवश्यक छ भन्ने धारणा उनले राख्दै आएका छन्।
‘गतिशक्ति’ बाट जोडिँदै भारत
मोदीले गतिशक्तिलाई चौथो शक्तिका रूपमा प्रस्तुत गरे। यसको केन्द्रमा आधुनिक पूर्वाधार र तीव्र गतिमा हुने आवागमनलाई राखिएको छ। उनले यसमा युवाको गतिलाई पनि जोडेका छन्।
सहरहरूलाई द्रुत गतिको रेलमार्फत जोड्ने, आधुनिक राजमार्ग विस्तार गर्ने तथा बन्दरगाहको क्षमता बढाउने योजनालाई उनले भारतको आर्थिक विकाससँग जोड्दै अघि सारे। पूर्वाधारलाई केवल यातायातको माध्यम नभई आर्थिक गतिविधिको गति बढाउने आधारका रूपमा प्रस्तुत गरिएको छ।
रक्षा शक्ति
रक्षा शक्तिलाई पाँचौँ धाराका रूपमा राख्दै मोदीले रक्षा सामग्रीमा भारतको आत्मनिर्भरतालाई अझ बलियो बनाउने संकेत गरे। रक्षा उत्पादनमा स्वदेशी प्रविधि र उत्पादन क्षमता विस्तारलाई उनले राष्ट्रिय सुरक्षासँगै रणनीतिक स्वायत्तताको विषयका रूपमा प्रस्तुत गरे।
यसअघि पनि मोदीले ‘मेड इन इन्डिया’ रक्षा सामग्रीलाई भारतको रणनीतिक आत्मनिर्भरताको आधारका रूपमा व्याख्या गर्दै आएका छन्। भारतको उत्पादन रक्षामा संलग्नले उपयाेग गर्ने मात्र होइन नयाँ नयाँ इनो भेसनहरु पनि रक्षाामा हुन पर्ने जोड उनको रहँदै आएको छ।
हरित र निलो अर्थतन्त्र
हरित अर्थतन्त्र र निलो अर्थतन्त्रलाई छैटौँ शक्तिका रूपमा अघि सारिएको छ। मोदीले हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित यातायात र हरित उत्पादनमा विश्वस्तरीय क्षमता विकास गर्नुपर्ने बताए। वातावरण संरक्षणसँगै नयाँ आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यलाई यसअन्तर्गत राखिएको छ।
त्यसैगरी समुद्री अर्थतन्त्रतर्फ माछापालन र तटीय पर्यटनलाई प्रवर्द्धन गर्ने योजनासमेत उनले अघि सारे।
सफ्ट पावर
‘सप्तधारा’को सातौँ तथा अन्तिम शक्ति भारतको सफ्ट पावरलाई बनाइएको छ। हस्तकला, संस्कृति, चलचित्र, सिर्जनात्मक उद्योग, भीएफएक्स, एनिमेसन, गेमिङ तथा डिजिटल सामग्रीमार्फत भारतले विश्वमा आफ्नो प्रभाव र प्रतिष्ठा अझ विस्तार गर्न सक्ने मोदीको विश्वास छ।
यसले भारतको विकासलाई केवल अर्थतन्त्र, प्रविधि र पूर्वाधारमा सीमित नगरी संस्कृति र सिर्जनशीलतालाई पनि राष्ट्रिय शक्तिको महत्वपूर्ण आधारका रूपमा हेरेको देखाउँछ। भारतको सांस्कृतिक प्रभावलाई विश्वव्यापी कूटनीति र आर्थिक अवसरसँग जोड्ने उनको दृष्टिकोण यसबाट स्पष्ट हुन्छ।
नक्सलवाददेखि ओलम्पिकसम्म
मोदीले ‘नक्सलमुक्त भारत’ निर्माणमा भएको प्रगतिलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरे। साथै सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतले अघि सारेको दाबीबारे पनि उल्लेख गरे। यसले मोदीको सम्बोधनमा सुरक्षा र विकाससँगै भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा विस्तारको आकांक्षा पनि समानान्तर रूपमा अघि बढिरहेको देखाएको छ।
उनाले पाँच-सात वर्षमा नयाँ गति दिने दाबी गरिरहँदा त्यो अनुरुपककाे काम पनि भइरहेकाे सद्ददेश उनले िदएका हुन्। मोदीले आगामी पाँचदेखि सात वर्षमा यस्तो परिवर्तन हासिल गर्ने लक्ष्य प्रस्तुत गरे, जुन पछिल्ला पाँचदेखि सात दशकमा सम्भव नभएको उनको दाबी छ।
उनका अनुसार ‘सप्तधारा’को सामर्थ्य र शक्तिलाई परिचालन गर्दै भारतलाई नयाँ उचाइमा पुर्याउने र नयाँ लक्ष्य हासिल गर्ने क्षमता निर्माण गरिनेछ। भारतको स्वतन्त्रताको ८०औँ वर्षगाँठमा लालकिल्लाबाट मोदीले दिएको सन्देश यस अर्थमा विगतको उत्सवभन्दा बढी भविष्यको भारतको खाका प्रस्तुत गर्ने राजनीतिक घोषणाका रूपमा देखिएको छ।
‘विकसित भारत’को लक्ष्यलाई अब उत्पादन, कृषि, प्रविधि, पूर्वाधार, रक्षा, हरित अर्थतन्त्र र सांस्कृतिक प्रभाव- यी सातवटै शक्तिको समग्र विकाससँग जोडेर अघि बढाउने मोदीको नयाँ सूत्र नै यस वर्षको स्वतन्त्रता दिवस सम्बोधनको सबैभन्दा महत्वपूर्ण पक्ष बनेको छ। (भारतीय सञ्चारमाध्यमका आधारमा तयार परिएको)


