काठमाडौँ- विश्वासको मत नपाउने देखेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्।
मुख्यमन्त्री स्रोतका अनुसार भोलिसम्ममा उनले राजीनामा दिने छन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। प्रदेशमा नेकपा र एमालेको गठबन्धन बनेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह अल्पमतमा छन्। उनीपछि सुदूरपश्चिममा नेकपाका खगराज भट्टलाई मुख्यमन्त्रीका लागि अघि सार्ने गठबन्धनको तयारी छ।
प्रकाशित: २७ साउन २०८३ ९:१२ | Wednesday, August 12, 2026
प्रतिक्रिया


