धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा र नेकपा एमालेका सांसदहरूको समर्थन रहेको थियो।
यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए। तोकिएको समयभित्रै भट्टले दाबी पेस गरेका हुन्।
भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ।
सुदूरपश्चिममा नेकपा र एमालेबीच मन्त्रालय भागबन्डासमेत यसअघि नै टुंगो लागेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछ।
गत असार ३१ गते बजेटप्रति असहमति जनाउँदै एमालेले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यसपछि शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए।


