सर्लाही- सर्लाहीसहित मधेशका जिल्लाहरुमा लामो दुरीका सवारी साधन सञ्चालनमा आउन थालेको छ । गाडी चल्न थालेपछि यात्रुलाई सहज भएको छ ।
यस क्षेत्रमा बिहीबार र शुक्रबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए । शनिबारदेखि लामो दुरीमा चल्ने बस समेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो ।
पूर्वको सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्णरुपमा खुल्न सकेका छैनन् । सर्लाहीको बस व्यवसायी दीपलाल महतोले अन्य दिनको तुलनामा शनिबारदेखि बस सञ्चालनमा सहजता भएको छ । आइतबार थप सहज अवस्था भएको बताए।
वीरगन्ज, बर्दिवास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका र ढल्केबरदेखि पूर्वतर्फ पनि विस्तारै अवस्था सहज भइरहेकाले बस गुडाउन सुरु गर्ने तयारी रहेको महतोको भनाइ छ । पूर्वका धेरै ठाउँमा अहिले साना गाडीहरु (हायस र वींगर) ले भने फाट्टफुट्ट यात्रु ओसारपसार गर्दा सहजता भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक झलक शर्माले शनिबारदेखि महेन्द्र राजमार्ग र अन्य भित्री सडकमा सवारीको चाप बढ्न थालेको बताउनुभयो । स्थानीय रुटमा चल्ने टेम्पु, म्याजिक, जीप, बस, बोलेरो भने सामान्य अवस्थामै नियमित सञ्चालनमा रहेका छन् ।
सङ्घीय राजधानी काठमाडौँसम्म प्रत्येक सवारी साधन निर्वाध आउजाउ गरिरहेका छन् । लालबन्दीस्थित रात्रि बसका काउन्टर सञ्चालक विजय लामाले नाइट बस सञ्चालनमा कुनै समस्या नरहेको बताए। शनिबारदेखि सदरमुकामतर्फबाट चल्ने बसहरुको समेत टिकट काट्न सुरु गरिएको लामाले बताए। मधेशका जिल्लाहरुमा आन्दोलन कम हुँदै गएसँगै हरेक सवारी साधन क्रमिक रुपमा सुचारु हुन थालेका छन् ।
यातायातसँगै मधेशका बजारहरु पनि साबिकझैँ खुल्न थालिसकेका छन् । सर्लाहीमा शुक्रबारको प्रदर्शनले बन्द भएका बरहथवा, बयलवास र मलङ्गवा बजार शनिबारदेखि खुलेका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जनजीवन सामान्यतर्फ उन्मुख रहेको जानकारी दिए।


