काठमाडौँ- गायक सुशान्त केसीले भोटेकोशी बाढी प्रभावितका लागि घोषणा गरेको १० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।
हाल अस्ट्रेलिया र न्यूजिल्यान्डमा ‘पाहुना टूर’ गरिरहेका केसीको कन्सर्ट पनि भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएको थियो। त्यसपछि उनले आफ्नो टूरलाई मनोरञ्जनमा मात्र सीमित नराखी दुःखमा परेका नेपालीको साथमा उभिने अवसरका रूपमा लिने बताएका थिए।
उनले संगीतमा मानिसलाई एक ठाउँमा ल्याउने शक्ति रहेको उल्लेख गर्दै विपद्को समयमा आवश्यक परेकालाई सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए।‘सहयोग सानो–ठूलो भन्ने हुँदैन। सहयोग गर्ने ठाउँमा रहेकाले आफ्नो तरिकाले मद्दत गर्न सक्नुहुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।
त्यसै क्रममा केसीले बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। घोषणाअनुसार उनले आइतबार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।
संगीतको टूरमा निस्किएका सुशान्तले यसपटक गीतसँगै जिम्मेवारी पनि बोकेर फर्किए।


