काठमाडौँ- मधेश केन्द्रितलगायतका दलहरूले नयाँ मोर्चा घोषणा गर्ने तयारी गरेका छन्।
देशलाई अग्रगामी निकास दिन भन्दै उनीहरूले ‘अग्रगामी मोर्चा’ को घोषणा गर्न लागेका हुन्।
मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाललगायतका दलहरू आवद्ध छन्।
आगामी २३ गते काठमाडौँमा कार्यक्रमको आयोजना गरी मोर्चा घोषणा गर्ने तयारी गरिएको छ।
सोमबार बसेको दलका शीर्ष नेताहरूको बैठकले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय गरेको मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जसपा नेपालका नेता जितेन्द्र सोनलले जानकारी दिए।
मोर्चाको उद्देश्य, कार्यदिशा र सिद्धान्तसहितको अवधारणापत्र घोषणा कार्यक्रममै सार्वजनिक गरिने उनले बताए।
सोनलले संविधानको संरक्षण, संघीयतालगायतका उपलब्धिको रक्षा गर्न चुनौती देखिएको अवस्थामा मोर्चाको निर्माण आवश्यक देखिएको उल्लेख गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आवश्यक देखिएको छ, यसका लागि हामी सधैँ अगाडि बढ्ने छौँ,’ उनले भने,‘विभिन्न आन्दोलनबाट प्राप्त उपलिब्धको रक्षा गर्न मोर्चा निर्माण गर्ने निष्कर्षमा हामी पुगेका छौँ।’
तत्काल सातदलीय मोर्चा बनाइए पनि अन्य दलहरूसँग पनि छलफल भइरहेको सोनलले बताए।


