रसुवा बाढीबारे संसद्‌मा बहस, खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन सांसदको माग

हिमाल प्रेस १० भदौ २०८३ १५:१४ | Wednesday, August 26, 2026
रसुवा बाढीबारे संसद्‌मा बहस, खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन सांसदको माग

काठमाडौँ- चीनको तिब्बतबाट रसुवा हुँदै आएको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। हालसम्म ८ जनाको मृत्यु भएको जानकारी आए पनि अझै ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ।

बाढीका कारण रसुवाका दर्जनौँ बस्ती प्रभावित भएका छन् भने भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। बाढीपछि उद्धार, खोजी तथा प्रतिकार्यका लागि सरकारी तथा सुरक्षा निकाय परिचालन भइरहेका छन्।

यसैबीच, आज बसेको प्रतिनिधिसभा बैठकमा पनि रसुवा बाढीको विषय प्रमुख रूपमा उठेको छ। बैठकमा सांसदहरूले बाढीबाट भएको क्षति, उद्धारको अवस्था तथा सरकारको आगामी कदमबारे धारणा राखिरहेका छन्।

बैठकमा गृहमन्त्री सुधन गुरुङले बाढीबाट भएको क्षति, उद्धार तथा प्रतिकार्यबारे जानकारी दिने तयारी छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले रसुवा-त्रिशूली करिडोर क्षेत्रमा आएको बाढीले दर्जनौँ बस्ती तहसनहस भएको र धेरै मानिस सम्पर्कविहीन रहेको बताए।

प्रहरी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको उल्लेख गर्दै उनले सरकारको पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्नेमा जोड दिए।

उनले विपत्तिको यस घडीमा प्रतिपक्षी दलहरू सरकारको साथमा रहेको पनि बताए। केसीले भने,‘यो कठिन परिस्थितिमा बाढी पीडितको पक्षमा सरकार, राजनीतिक दलहरू र समाज छ भन्ने विश्वास दिलाउन चाहन्छु।’

बाढीबाट ठूलो क्षति भएको उल्लेख गर्दै उनले हिमताल विस्फोटको सम्भावित जोखिमबारे विगतमा गरिएका अध्ययन र प्रतिवेदनलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

‘ग्ल्यासियर लेकको बारेमा इसिमोड, विश्व बैंक र युएनडिपीका रिपोर्टहरूलाई गम्भीर रूपमा अध्ययन गरेर पूर्वतयारी गर्न मैले धेरै अगाडि भनेको हो,’उनले भने।

रसुवाका दर्जनौँ बस्ती प्रभावित हुनुका साथै मानिस र प्रहरीसमेत सम्पर्कविहीन भएको उनले बताए। त्रिशूली ‘ए’ र ‘बी’ आयोजनामा काम गर्ने मजदुरहरूबारे समेत समाचार आइरहेको उल्लेख गर्दै उनले नुवाकोट र धादिङमा भएको क्षतिबारे जानकारी गराए।

‘नवलपुरमा १२ भन्दा बढी पक्की पुलहरू ध्वस्त भएका छन्। धादिङबेसी जाने पक्की पुलसमेत ध्वस्त भएको छ,’ उनले भने।

उनका अनुसार नुवाकोटका देवीघाट र त्रिशूलीका ठूला आयोजनासमेत प्रभावित भएका छन् भने त्रिशूली बजारमा ठूलो क्षति पुगेको छ।

यस्तो विपद्को समयमा राजनीतिक दल, स्थानीय तह र सरकारबीच समन्वय गरी राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १० भदौ २०८३ १५:१४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast